विराटनगर । निर्वाचन आयोगको घोषणा अनुसार मतदाता नामावलीमा कोशी प्रदेशका १४ जिल्लामा एक लाख ५७ हजार ६१३ नयाँ मतदाता थपिएका छन् ।
असोज १० देखि मंसिर ५ गते सम्मको अवधिभित्र १३ जिल्लाको जिल्ला निर्वाचन कार्यालय तथा मोरङको विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा नयाँ मतदाता थपिएका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार कार्यालयमै पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ५८ हजार ९२५ जना छ । त्यसैगरी, राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा ९८ हजार ६८८ मतदाता थपिएको जनाइएको छ ।
नयाँ मतदाता नामावली संकलन गर्नुअघि कोशी प्रदेशमा गत असोज १० सम्म ३४ लाख ३३ हजार ९०० मतदाता रहेका थियो ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङबाट ३ हजार, पाँचथरबाट ४ हजार ३८९, इलामबाट ६ हजार ६४, संखुवासभाबाट २ हजार ८०८, तेह्रथुमबाट ३ हजार ६७७, धनकुटाबाट ३ हजार २७२ मतदाता थपिएका छन् ।
त्यसैगरी, भोजपुरबाट २ हजार ९०९, खोटाङबाट ४ हजार १६२, सोलुबाट ५८०, ओखलढुंगाबाट ५ हजार ९३२, उदयपुरबाट ८ हजार ७१७, झापाबाट ३५ हजार ३१९, सुनसरीबाट ३२ हजार ३८२ र मोरङबाट ४४ हजार ४०२ जनाको नाम दर्ता भएको हो ।
निर्वाचन आयोगले आगामी फागुन २१ मा घोषणा गरेको निर्वाचनका लागि नयाँ मतदातालाई समावेश गर्न फोटोसहितको नामावली संकलन गरेको हो ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले संकलन भएका मतदाताहरूको नामावलीको विवरण अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिए ।
जस अन्तरगत दोहोरिएका र पायक पर्ने स्थानबाट नामावली दर्ता गरेका मतदाताको विवरण अद्यावधिक गर्ने तथा त्रुटी सच्याउने कार्य हुने बताए ।
अद्यावधिक सकिएपछि आयोगलाई मंसिर २० मा अन्तिम नामावली पठाउने जनाइएको छ । उक्त नामावली पुस २३ गते आयोगले सार्वजनिक गर्ने तालिका छ ।
View : 173
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved