गुणस्तरीय र संस्कारयुक्त शिक्षामा जोड
विराटनगर । विराटनगर–१३ स्थित डीएभी स्कुलले आफ्नो स्थापनाको ३१ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। विद्यालय परिसरमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।
राष्ट्रिय भावना र गुणस्तरीय शिक्षा
कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका अध्यक्ष एवं समाजसेवी सुरेश शर्माले विराटनगरका समाजसेवीहरूको पहलमा स्थापित यस विद्यालयले स्थापनाकालदेखि नै राष्ट्रिय भावनासहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले विद्यालयको तीन दशक लामो यात्रा शैक्षिक विकासमा कोशेढुङ्गा सावित भएको उल्लेख गरे।
९५ प्रतिशत विद्यार्थी स्वदेशमै सक्रिय
समारोहमा विद्यालयका प्राचार्य रमेश मिश्राले डीएभीले किताबी ज्ञान मात्र नभई संस्कारयुक्त शिक्षामा जोड दिँदै आएको बताए । "हाम्रो विद्यालयबाट उत्तीर्ण भएका ९५ प्रतिशत विद्यार्थीहरू स्वदेशमै विभिन्न पेशा, व्यवसाय र स्वरोजगारमा सक्रिय रहनु गौरवको विषय हो," प्राचार्य मिश्राले भने ।
विद्यार्थीका स्टलहरू मुख्य आकर्षण
वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा दुई दर्जनभन्दा बढी प्रयोगात्मक स्टलहरू प्रदर्शनीमा राखिएको थियो। विद्यार्थीहरू आफैंले तयार पारेका फेस पेन्टिङ, चित्रकला तथा विभिन्न खाद्यान्नका स्टलहरू कार्यक्रमको मुख्य आकर्षण बनेका थिए।
सोही अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
शुभकामना र सहभागिता
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले डीएभी स्कुलले शिक्षा क्षेत्रमा अनुकरणीय भूमिका निर्वाह गरिरहेको बताए । विद्यालय सञ्चालक समितिका सदस्यद्वय ताराचन्द खेतान र राजकुमार अग्रवालले विद्यालयको शैक्षिक गतिविधिको प्रशंसा गर्दै भविष्यमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
वि.सं. २०५१ सालमा स्थापना भएको यस विद्यालयमा हाल प्ले–ग्रुपदेखि कक्षा १२ सम्म १ हजार २५० विद्यार्थी अध्ययनरत छन् भने १३० जना शिक्षक तथा कर्मचारीहरू कार्यरत छन्।
View : 100
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved