Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कृषि एक्स्पो २०८१ को तयारी तीब्र, हरेक जिल्लामा प्रचार–प्रसार गरिंदै

उद्घोष सम्वाददाता
२८ साउन २०८१, सोमवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी भाद्र २७ देखि ३० गतेसम्म मोरङको कटहरी कृषि थोक बजारमा आयोजना गर्न लागेको कृषि एक्स्पो २०८१ को तयारी तीब्र पारेको छ ।

कृषि एक्स्पोको प्रचार–प्रसारका क्रममा महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको टोलीले इलामको सूर्योदय नगरपालिका र उद्योग वाणिज्य संघ बिर्तामोडमा त्यहाँका उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, कृषि व्यवसायी तथा कृषकसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

उक्त अवसरमा महासंघका अध्यक्ष राउतले विगतमा काठमाण्डौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा कोशी प्रदेशमा हुन लागेको जानकारी दिए । एक्स्पो सफल पार्न कोशी प्रदेश सरकार र सम्बन्धित मन्त्रालय, नेपाल सरकार र स्विस सरकार विकास सहयोगको प्रवर्द्धनात्मक सहयोग रहने उनले बताए ।

त्यसैगरी नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिकाको सहकार्यमा आयोजना हुने कृषि एक्स्पोमा कृषि क्षेत्रका नवीनतम् प्रविधि, कृषि उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरूको प्रदर्शनी हुने जनाइएको छ । साथै कृषि विज्ञहरूको सहभागितामा प्यानल छलफल, विटुवी छलफल लगायतका कार्यक्रम तय गरिएको अध्यक्ष राउतले बताए ।

एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरू आउने र कृषि क्षेत्रका सवालबारे छलफल र परामर्श गर्ने जनाइएको छ । एक्स्पोले कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषकले उत्पादन गरेका वस्तुहरूको प्रवर्द्धन गरी उद्योग स्थापना गर्न प्रेरित गर्ने उद्देश्य रहेको जनाइएको छ । 

एक्स्पोले कृषक र उद्योगीहरू बीच समन्वय गराउने जनाइएको छ । 

एक्स्पोमा सहभागी र अवलोकन गर्न आउने अन्तर जिल्लाका सहभागीहरूलाई निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको अध्यक्ष राउतले जानकारी दिए ।

सूर्योदय नगरपालिकामा भएको छलफलमा नगर प्रमुख रणबहादुर राईले एक्स्पो सफल बनाउन आफ्नो क्षेत्रबाट पूर्णरुपमा सहयोग रहने आश्वासन दिए । उनले एक्स्पोमा आफ्नो पालिका क्षेत्रका उत्पादनहरू प्रदर्शनीमा राखिने बताए । 

विगतमा रमाइलो मेला मात्र आयोजना भइरहेको र आम्दानी कसरी आउँछ भन्ने होडबाजीले मेला महोत्सव आयोजना हुने गरेकोमा यस पटक महासंघले परिणाम आउने गरी एक्स्पोको तयारी गरेको उनले बताए । सबै मिलेर एक्स्पो सफल पारिने पनि मेयर राईले बताए ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ, पाँचथर उद्योग वाणिज्य संघ, इलाम उद्योग वाणिज्य संघ, सूर्योदय नगर उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, अलैँची व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधि, कृषि व्यवसायी र कृषकहरूले एक्स्पोमा कोशी प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु, प्रविधि, कृषि औजारको प्रर्दशनी हुनेमा विश्वास व्यक्त गरे । उनीहरुले कृषि सम्वन्धी जानकारी गराउन विज्ञहरूको थलो बनाई आधुनिक कृषि व्यवसायका लागि जोड दिन महासंघलाई आग्रह गरेका थिए । 

बिर्तामोडमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले कोशी प्रदेशमा पहिलो पटक हुन लागेको कृषि एक्स्पोलाई सफल पार्न सवैले उत्साहपूर्ण रुपमा सहयोग गर्नुपर्ने बताए । 

नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले एक्स्पो सबैसँग जोडिएको हुँदा यसलाई सफल बनाउन अलैँची व्यवसायी महासंघले आवश्यक सहयोग गर्ने बताए । महिला उद्यमी गोमा भट्टराईले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । 

विर्तामोड नगरपालिकाका कृषिशाखा प्रमुख राजेन्द्र कँडेलले ठुला औजारलाई मात्रै प्राथमिकता नदिई कृषकको पहुँचमा हुने खालका हाते औजारको प्रवद्र्धनमा जोड दिन आग्रह गरे । उनले चिया, कफी, फलफूल, अलैंचीको उत्पादनमा सहज हुने औजारहरुलाई किसानलाई परिचित गराउनुपर्ने सुझाव दिए । 

चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले चियाका विभिन्न उत्पादनहरू एक्स्पोमा रहने बताए । उनले विषादीमुक्त खाद्यवस्तुको प्रयोगलाई एक्स्पोले जोड दिनुपर्ने बताए । 

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित उक्त छलफलमा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पोको तयारीबारे जानकारी गराउँदै सहभागीताका लागि आग्रह गरेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।

View : 180

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved