विराटनगर । शनिबारदेखि नरेश श्रेष्ठ स्मृति वाइवाई अण्डर १९ पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । विराटनगर महानगरपालिका–१९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
मन्त्री अधिकारीले कोशी प्रदेश राजनीतिक, आर्थिक, शिक्षा र स्वास्थ्यमा मात्रै नभएर अब खेलकुदमा पनि बलियो भएर अघि बढ्नुपर्ने बताए । उनले खेलकुदका माध्यमबाट कोशी प्रदेशको उत्कृष्टता प्रस्तुत गर्नुपर्ने बताए । उनले बैजनाथपुर क्रिकेट रंगशालालाई तीनै तहका सरकार मिलेर अन्तर्राष्ट्रिय मैदानका रुपमा स्तरोन्नति गर्न सदैव सहयोग गर्ने पनि जानकारी दिए ।
यस वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डरमा समावेश गरिएको नरेश श्रेष्ठ स्मृति वाइवाई अण्डर १९ पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटनमा सहभागी भएका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अबदेखि यो प्रतियोगिताले निरन्तरता पाउने बताए । उनले २०५१-५२ सालतिर नरेश श्रेष्ठले विराटनगरबाट धनगढी गएर राष्ट्रिय प्रतियोगिता गराएको स्मरण गरे ।
अध्यक्ष चन्दले भैरहवा र विराटनगरमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न क्यान प्रतिवद्ध रहेको बताए । उनले मेहेनत गरेर खेल्न पनि आयोजक कोशी प्रदेशको टोलीलाई आग्रह गरे । साथै क्रिकेटमा हुने कुनैपनि गलत कार्य भएमा क्यानले तत्कालै कारवाहीको प्रक्रिया अघि बढाउने चेतावनी समेत दिए ।
अण्डर १९ पुरुष क्रिकेट प्रतियोगितालाई २० वर्षदेखि चौधरी ग्रुपको वाइवाई चाउचाउले प्रायोजन गर्दै आएको थियो । यस पटकदेखि क्यानले प्रतियोगिताको स्वामित्व ग्रहण गर्दै राष्ट्रिय प्रतियोगिताका रुपमा संचालन गर्न सुरु गरेको हो ।
राउन्ड रोबिन्स चरणमा हुने प्रतियोगिताको फाइनलसहित २२ वटा खेल विराटनगरका दुईवटा खेलमैदान हुँदैछन् । बैजनाथपुर क्रिकेट रंगशालामा उद्घाटन र फाइनलसहित १२ वटा खेल हुनेछन् । त्यस्तै विराटनगर–६ स्थित मेरिलिबोन क्रिकेट रंगशालामा १० वटा खेल हुने कोशी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष अनुप ढुंगानाले जानकारी दिए ।
कोशी प्रदेशको खस्किएको क्रिकेटलाई भविष्यका लागि बलियो पार्न यो प्रतियोगिताले महत्वपूर्ण जग बनाउने अपेक्षासहित कोशी प्रदेशको टोलीले उद्घाटन खेल मधेस प्रदेशसँग खेल्दैछ । टस जितेर मधेस प्रदेशले ब्याटिङ रोजेको छ । कोशी प्रदेशका लागि सौजन घिमिरेको कप्तानीको टोली मधेसविरुद्ध बलिङमा छ ।
अण्डर–१९ पुरुष क्रिकेट प्रतियोगिताका विजेता प्रदेशले नगद २ लाखसहित ट्रफी उचाल्ने छ । त्यस्तै रनरअपले १ लाख रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
प्लेयर अफ दि सिरिजले नगद ३५ हजार, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले २०-२० हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलमा प्लेयर अफ द म्याचलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने कोशी प्रादेशिक क्रिकेट संघका सचिव टिकाराम पुरीले जानकारी दिए ।
प्रतियोगितामा ७ वटै प्रदेशका टिमको सहभागिता रहने जनाइएको छ । खेल ५० ओभरको हुनेछ ।
कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनमा क्यानका कोषाध्यक्ष पदम बहादुर खड्का, कोशी प्रादेशिक क्रिकेट संघका पदाधिकारी, मोरङ जिल्ला क्रिकेट संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
View : 156
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved