विराटनगर । भारतले नेपाली चियामाथि लगाएको कडा परीक्षण व्यवस्था तत्कालका लागि खुकुलो बनाएपछि दुई सातादेखि अन्योलमा परेको नेपालको चिया उद्योगले राहत महसुस गरेको छ ।
भारतीय टी बोर्डले मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षणसम्बन्धी ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) संशोधन गर्दै भारतभित्र घरेलु बिक्रीका लागि जाने चियालाई अनिवार्य परीक्षणबाट अस्थायी रूपमा छुट दिएको हो। मंगलबार जारी सूचनाअनुसार अब नेपालबाट भारत निर्यात हुने अधिकांश चिया पहिलेझैँ सहज रूपमा भारत प्रवेश गर्न सक्ने भएको छ ।
यो निर्णयसँगै सीमामा रोकिएका चिया कन्साइनमेन्ट खुल्ने, उद्योगीको लागत घट्ने र किसानसम्म यसको सकारात्मक प्रभाव पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता ले भारतीय टी बोर्डको संशोधित व्यवस्थाले तत्कालको अवरोध हटेको बताए। उनका अनुसार भारतमा घरेलु बिक्रीका लागि जाने नेपाली चिया अब पुनः नियमित रूपमा निर्यात हुन सक्ने अवस्था बनेको छ ।
भारतले मे १ देखि लागू गरेको नयाँ व्यवस्थाअनुसार नेपालबाट भारत प्रवेश गर्ने प्रत्येक चिया कन्साइनमेन्टको प्रयोगशाला परीक्षण अनिवार्य गरिएको थियो। यसका कारण सीमामा गाडीहरू रोकिएका थिए भने रिपोर्ट आउन लामो समय लाग्दा व्यापार लगभग ठप्प बनेको थियो ।
झापाबाट परीक्षणका लागि पठाइएको एउटा चिया बोकेको गाडी पानीट्यांकी नाका पुगेको चार दिनपछि मात्रै नमूना संकलन गरिएको थियो ।
त्यसपछि पनि १० दिनभन्दा बढी समय बित्दा कोलकातास्थित प्रयोगशालाबाट परीक्षण रिपोर्ट नआएको उद्योगीहरूले बताएका छन्। यही ढिलासुस्तीले व्यापारीहरू थप चिया पठाउन हिच्किचाइरहेका थिए ।
उद्योगीहरूका अनुसार भारततर्फ निर्यात हुने नेपाली चियाको ठूलो हिस्सा भारतमै घरेलु बिक्रीका लागि प्रयोग हुने भएकाले नयाँ संशोधनले व्यापार सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। यद्यपि पुनः निर्यातका लागि भारत ल्याइने चियामा भने अनिवार्य परीक्षण कायमै रहने भारतीय टी बोर्डले जनाएको छ। ‘र्यान्डम’ परीक्षणको व्यवस्था भने अझै रहनेछ ।
भारतीय वाणिज्य मन्त्रालयको निर्देशनपछि टी बोर्डले एसओपी संशोधन गरेको जनाइएको छ। पछिल्ला दिनमा दिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग लगातार संवाद गर्दै आएको थियो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनाल ले पनि नेपाली दूतावासमार्फत अवरोध हटाउन निरन्तर पहल भइरहेको बताएका थिए ।
नेपालमा हाल साना–ठूला गरी करिब १२० चिया उद्योग सञ्चालनमा छन् भने १०० भन्दा बढी साना तथा मझौला उद्यमी सक्रिय छन्। चिया क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० देखि ६० हजार मानिस आश्रित रहेको अनुमान छ ।
गत आर्थिक वर्षमा मात्रै नेपालबाट सिटिसी र अर्थोडक्स गरी ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।
नेपालभर हाल २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। नेपाली चियाको प्रमुख बजार भारत नै हो, जहाँ ९० प्रतिशत अर्थोडक्स र झन्डै आधा सिटिसी चिया निर्यात हुने गरेको छ ।
View : 155
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved