Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका पूर्वमन्त्री भण्डारी सम्मानित

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

विराटनगर । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई सिटी सफारीका लागि लाइसेन्स प्रक्रिया सहज बनाउने, आवश्यक कानून निर्माण र संशोधनमा पहलकदमी लिएको भन्दै सम्मान गरिएको छ । 

विकल्प एन अल्टरनेटिभले ई–रिक्सा (सिटी सफारी) सम्बन्धी अनुसन्धानपत्र सार्वजनिक गर्ने एक कार्यक्रमको अवसरमा मन्त्री भण्डारीलाई सम्मानित गरेको हो । 

पूर्वमन्त्री भण्डारीले कोशी प्रदेशमा सिटी सफारी सञ्चालन गर्ने र सोको कमाईमा आश्रित जनसंख्या ठूलो रहेको बताए । उनले आफ्नो कार्यकालमा ठोस कानुनी सुधार गर्न सफल भएकोमा आफूलाई समेत गर्व लागेको बताए । 

कार्यक्रममा सिटी सफारीको सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया, सिटी सफारीसँग जोडिएको जीविकोपार्जन सम्बन्धी विषयमा केन्द्रित रहेको अनुसन्धानपत्रसमेत सार्वजनिक गरिएको थियो ।

अनुसन्धानपत्र सार्वजनिक गर्दै विकल्पका अनुसन्धानकर्ता समीर क्षेत्रीले तराई क्षेत्रमा मात्रै झन्डै दुई लाख भन्दाबढी संख्यामा सिटी सफारी सञ्चालनमा रहेको जानकारी दिए । तर, अधिकांश सिटी सफारी चालकहरूको न्यून शैक्षिक योग्यताका कारण सवारी अनुमतिपत्र प्राप्त गर्न भने कठिनाई भोग्नु परेको बताए ।

कोशी प्रदेश सरकारले सिटी सफारीसम्बन्धी लाइसेन्स परीक्षामा लिखित परीक्षालाई हटाएर मौखिक तथा ट्राफिक नियम प्रशिक्षणको व्यवस्था गरेर सहजता भएको धारणा राखे ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले ट्राफिक व्यवस्थापन, सवारी नियमको पालना लगायतका कामलाई थप प्रभावकारी बनाइने बताए । 

सार्वजनिक गरिएको अनुसन्धानपत्रलाई प्रदेश सरकारले आवश्यक रुपमा ग्रहण गर्ने बताए ।

सोही अवसरमा विकल्पद्वारा आयोजित ‘नेपाली समाजमा सिटी रिक्साको भूमिका’ विषयक भिडियो प्रतियोगिताका विजयीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

भिडियो प्रतियोगितामा प्रथम हुने संगम पौडेललाई २५ हजार, दोस्रो हुने सत्य राजवंशीलाई १८ हजार, तेस्रो हुने सीताराम कोइरालालाई १० हजार र चौथो हुने अनिश हमाललाई ७ हजार रुपैयाँसहित सम्मानित गरिएको जनाइएको छ ।

View : 363

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved