विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यसअघि काङ्ग्रेससँगै गठबन्धनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चाहिने नचाहिने कुरा गर्न थालेको आरोप लगाएका छन् । दाहालले हठात् रुपमा कांग्रेसलाई भए नभएको कपोलकल्पित आरोप लगाएर गठबन्धन फेरेर हिँडेको बताए ।
मंगलबार विराटनगरमा गुराँस पुस्तकालयको ५४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कोशी प्रदेशमा आफूले नै माओवादीलाई मुख्यमन्त्री नदिएको दाबी गरे ।
कांग्रेसका नेताहरूले माओवादीलाई लैजाऊ भनेको तर आफूले हुँदैन भनेको बताए ।
गठबन्धन फेरेर प्रधानमन्त्री दाहालले कोशीमा माओवादीको मुख्यमन्त्री हुनुपर्नेमा कांग्रेसले हुन नदिएको आरोप लगाएका थिए । त्यसको जवाफमा कोइरालाले पनि आफूले नै माओवादीको मुख्यमन्त्री हुन नदिएको दाबी गरे ।
‘प्रचण्डको सरकारमा हामी पनि थियौं, वहाँले हठात् नेपाली कांग्रेसलाई भए नभएको कुरा गरेर कपोलकल्पित आरोप लगाएर जानुभयो, वहाँले के भन्नुभयो भने– कोशी प्रदेशमा हामीलाई मुख्यमन्त्री नदिएको भन्नुभयो’ नेता कोइरालाले भने, ‘मै हो नदिने, हाम्रा नेताहरूले त लेउ तिम्रै सरकार बनाउ भनेर त भनेकै हो त, मैले हुँदैन भने, नेपाली कांग्रेसकै नेतृत्वमा हुनुपर्छ भनेर भने ।’
भर्खरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा माओवादीकी उम्मेदवार हारेपछि त्यसको दोष पनि प्रधानमन्त्री दाहालले कांग्रेसलाई लगाएको भन्दै रोष प्रकट गरे ।
‘प्रधानमन्त्रीले त्यसपछि राष्ट्रिय सभा निर्वाचनमा हामीले हरायौं भन्नुभयो’ कोइरालाले प्रश्न गरे, ‘जित्न नसक्ने अनि हामीले हरायौं ? त्यस्तो पनि कँही हुन्छ ?’
प्रधानमन्त्री दाहालले कांग्रेसको महासमिति बैठकको दस्तावेजमा प्रचण्डले भनेको कुरा लेखिदिनुपर्ने ? भन्दै आक्रोश पोखे ।
अहिले मुलुकको लोकतन्त्र अझै सुदृढ बनाउनु पर्ने आवश्यकता रहेको बताए । कोइरालाले अहिले राजनीतिक उथलपुथल देखिएको र सुदृढ लोकतन्त्रको अभावमा धेरै विकृति विसंगति पनि आइरहेको बताए ।
उनले राजनीतिकमा नैतिकता र संस्कारको खडेरी पर्दै गएको बताए । उनले गठबन्धन फेरिएको सरकार राम्रो चालोस् भन्दै शुभकामना दिए । तर राणा र राजासित लडेको कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिए । संसद्मा कांग्रेस कडा विपक्षीको भूमिकामा देखिने बताए ।
‘हामी कडा विपक्षी हुन्छौं, नेपाली कांग्रेसलाई चिनेको छैन होला, हामी राणा र राजासित लडेको पार्टी हो, कम्युनिस्टहरूसँग लड्न कुनै अप्ठ्यारो छैन’ उनले भने ।
नेता कोइरालाले वर्तमान संविधानमा रहेको निर्वाचन प्रणालीसम्बन्धी व्यवस्थाका कारण यस्तै गठबन्धन बनिरहने र भत्किरहने नियति भोग्नुपर्ने टिप्पणी गरे ।
उनले भने ‘कुनैपनि दलको बहुमत आउन सक्दैन, त्यसकारण निर्वाचन प्रणालीलाई परिमार्जन गरी अगाडि जान सकिए कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ ।’
कार्यक्रमका अवसरमा बरगाछी नामक स्मारिकाको लोकार्पण गर्नुका साथै स्व. मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मानबाट समाजसेवातर्फ दिनबन्धु गोयल र राजनीतितर्फ पिताम्बर दाहाललाई सम्मानित गरिएको थियो ।
पुस्तकालयका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व. पूर्णकुमारी श्रेष्ठ छात्रवृत्ति वितरण समेत गरिएको थियो ।
View : 277
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved