विराटनगर । विराटनगरको सीमावर्ती भारतीय शहर फारबिसजगंजमा अन्तराष्ट्रिय एयरपोर्ट सञ्चालनको माग गर्दै नेपाल तथा भारतका उद्योगी व्यवसायीले संयुक्तरुपमा हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
फारबिसगंजमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुँदा कोशी प्रदेश र मधेश प्रदेशका सर्वसाधारण र उद्योगी व्यवसायी समेत लाभान्वित हुने तर्कसहित व्यवसायीहरूले हस्ताक्षर अभियान गरिरहेका छन । विराटनगरका व्यवसायी महेश स्वर्णकारको संयोजकत्वमा नेपाल भारत मैत्री अन्तर्राष्ट्रिय संघर्ष समिति समेत गठन गरिएको छ ।
समितिमा भारतीय पत्रकार राजेशकुमार शर्मा सहसंयोजकको भूमिकामा छन् । हाल भारतका विभिन्न शहरहरूमा हवाइजहाज मार्फत जान यस क्षेत्रका मानिसले भारतको पश्चिम बंगालमा रहेको बागडोग्रा वा विहारको दरभंगा विमानस्थल प्रयोग गर्ने गरेका छन् ।
ती दुवै विमानस्थलको दुरी फारबिसगंज भन्दा टाढा छ । विराटनगरबाट १५ किलोमिटर टाढा रहेको फारबिसगंजमा विगतमा पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिएको थियो । वि.सं. २०३० सालयता सो विमानस्थल बन्द रहेको बताइएको छ । फारबिसगंजमा विमानस्थलको १ सय ६३ बिगाहा जग्गा र यसअघिका संरचनाहरूसमेत रहेको बताइएको छ ।
उद्योगी व्यवसायीहरूले सोही विमानस्थलाई पुनः सुचारु गर्न माग गरिरहेका छन् । फारविसगंजमा विमानस्थल सञ्चालन हुन सके भारतको औद्योगिक शहरहरूमा आउजाउ गर्न यस क्षेत्रका विद्यार्थी, व्यवसायी सहितका यात्रीहरूलाई समय र खर्च दुबैको बचत हुने संघर्ष समितिका संयोजक स्वर्णकारको भनाइ छ ।
संघर्ष समितिले विमानस्थल सञ्चालनको मागसहित भारतको फारबिसगंज, जोगबनी, रानी भन्सार क्षेत्र तथा विराटनगरका विभिन्न चोकहरूमा हस्ताक्षर संकलन गरिरहेको छ । हालसम्म ३० हजार बढी व्यक्तिहरुको हस्ताक्षर संकलन गरिसकिएको जनाइएको छ । संकलित हस्ताक्षर काठमाडौंस्थित भारतीय दुतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइने समितिले जनाएको छ ।
View : 379
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved