Biratnagar, Morang, Nepal
२५ जेठ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

किरायाको स्मारिका विमोचन

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

विराटनगर । किरात राई यायोक्खा विराटनगर महानगर समितिले शुक्रबार किरात राई स्मारिका विमोचन र एक महिने वान्तवा भाषा प्रशिक्षण कार्यक्रमको समापन गरेको छ । 

किरात राई यायोक्खाको भाषा, लिपि, संस्कार, संस्कृति संरक्षण प्रवद्र्धन र पुस्तान्तरणका लागि सो स्मारिका विमोचन र वान्तवा भाषा सिकाइएको हो ।

स्मारिकामा विराटनगरको १९ वटै वडामा बसोबास गरेका ४ सय २३ घरधुरीको तथ्यांक, संस्थाको हालसम्मको स्थिति, किरात सभ्यता र इतिहास साथै संस्थालाई योगदान पुर्याउने व्यक्तित्वहरुको बारेमा गतिविधि समेटिएको छ ।

संस्थाले आफ्नो समुदायको गतिविधि पुस्तान्तरण गर्न विराटनगर–११ स्थित किरात राई यायोक्खा सामुहिक भवनमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको साहित्यिक चेतना, लोकभाका, मौलिक नृत्य, सांस्कृतिक पर्व तथा बहुभाषिक सौन्दर्यलाई जीवन्त राख्न किरात राई समुदायको भूमिका महत्वपूर्ण रहेको बताए ।

त्यसैगरी यस्ता प्रकाशन र सिकाइले नयाँ पुस्तालाई आफ्नो इतिहास, पहिचान र संस्कृतिसँग जोड्ने कर्म गर्नुका साथै सामाजिक एकता र सांस्कृतिक संरक्षणमा प्रेरणादायी योगदान पुग्ने विचार व्यक्त गरे । 

सोही क्रममा किरात राई वान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान वान्तवा राईले धर्म, संस्कार परिवर्तन गर्नु भनेको नपुंशक हुनु हो भन्दै आफ्नो संस्कार गर्वीलो बनाउनु पर्ने बताए ।

किरायाका संस्थापक मेजर मानबहादुर राईले राईका ३२ भाषामध्ये तीब्र गतिमा लोप हुन थालेकोमा चिन्तित हुँदै तुरुन्तै किरात समुदायको पुस्तकालय निर्माण गरी पठनीय थलो बनाउन आग्रह गरे ।

किरातेश्वर माङ्खिमका अध्यक्ष धर्मराज लिम्बू, मोरङ स्मसानघाट व्यवस्थापन समितिका अध्यक्ष मणि राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष टीका लिम्बू, अभियन्ता टंक चाम्लिङलगायतले शुभकामना दिएका थिए । 

सोही अवसरमा एक महिने वान्तवा भाषा सिक्न सहभागी हुने ३० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यायोक्खा महानगरकी अध्यक्ष विष्णुकुमारी राईको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन सचिव दशरथ राईले गरेका थिए ।

View : 103

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved