एक्स्पो वार्ता :
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा जारी विराट ट्रेड एक्स्पो २०२५ ले दोस्रो दिनसम्म आइपुग्दा उत्साहजनक प्रतिक्रिया पाएको छ ।
एक्स्पोको व्यवस्थापन, स्टलहरूको अवस्था र प्रारम्भिक उपलब्धीबारे मोरंग उद्योग व्यापार संघका सचिव एवं एक्स्पोका संयोजक अमितकुमार सारडासँग उद्घोष दैनिकले गरेको बिहीबार गरेको कुराकानी :
एक्स्पोको दोस्रो दिनसम्मको अवस्थालाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
आज डिसेम्बर २५ अर्थात क्रिसमसको सार्वजनिक विदा पनि परेकाले बिहानैदेखि उत्साहजनक सहभागिता छ । हामीले बिहान ११ः३० बजेतिर थिमेटिक सेसनहरूको उद्घाटन गरेका थियौं ।
विशेषगरी ‘वुमन इन्टरप्रेन्यर’ सम्बन्धी कार्यक्रममा राम्रो उपस्थिति रह्यो । विदाको दिन भएकाले आम सर्वसाधारणको चाप अझ बढ्ने अपेक्षा गरेका छौं । साँझ चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति पनि भएकाले दर्शकहरूको आकर्षण एकदमै राम्रो रह्यो ।
एक्स्पोमा राखिएका स्टलधनीहरूको प्रतिक्रिया कस्तो छ ?
मैले व्यक्तिगत रूपमै स्टलहरूमा पुगेर अन्तरक्रिया गरिरहेको छु । प्रतिक्रिया निकै सकारात्मक छ । पहिलो दिन नै केही स्टलहरूले दुई–तीन घण्टाको अवधिमै ३० देखि ४० हजार रुपैयाँसम्मको व्यापार गरेको सुनाउनुभयो । अझ रोचक कुरा, अटोमोबाइल सेक्सनमा हिजो एउटा गाडी बुकिङसमेत भयो ।
आजभोलि नै यहाँबाट गाडी डेलिभरी दिने तयारी भइरहेको छ । यसले के देखाउँछ भने यो एक्स्पो केवल प्रदर्शनी मात्र नभएर प्रत्यक्ष र अप्रत्यक्ष व्यापारको ठूलो माध्यम बनेको छ ।
एक्स्पोमा २३० भन्दाबढी स्टलहरू छन् भनिएको थियो, ती सबै भरिए ?
लगभग सबै स्टलहरू फुल छन् । केही व्यवसायीहरूले स्टल बुक गरेर पनि प्राविधिक कारणले आउन सक्नु भएन । त्यस्ता खाली भएका एक–दुईवटा स्टलहरू हामीले ‘वेटिङ लिस्ट’ मा रहेका अन्य व्यवसायीहरूलाई उपलब्ध गराइरहेका छौं । माग अत्यधिक भएकाले कुनै पनि स्टल खाली रहने अवस्था छैन ।
दैनिक कति अवलोकनकर्ता आउने अनुमान गर्नु भएको छ ?
यहाँ प्रदर्शनीकर्ता, आयोजक र सेवा प्रदायकहरूको नियमित उपस्थितिलाई छोडेर विदाको दिन झन्डै १२ देखि १५ हजार दर्शकले टिकट काटेरै अवलोकन गर्ने हाम्रो अनुमान छ । अहिलेसम्मको माहोल हेर्दा यो लक्ष्य पूरा हुने देखिन्छ ।
विराटनगरबासीलाई केही सन्देश छ ?
यो एक्स्पो मोरङ उद्योग व्यापार संघको मात्र नभएर सम्पूर्ण विराटनगरवासी र यस क्षेत्रको गौरव हो । मोरङ, सुनसरी र सीमावर्ती भारतीय बजारका दाजुभाइ, दिदीबहिनीहरूलाई म एकपटक अनिवार्य अवलोकनका लागि आह्वान गर्दछु । यहाँ उद्यमी महिलाका लागि ज्ञान, सूचना प्रविधि, बैंकिङ र बिमा सम्बन्धी धेरै कुरा सिक्न पाइन्छ ।
यदि कसैसँग नयाँ व्यावसायिक आइडिया छ भने यहाँ लगानीकर्ताहरू पनि हुनुहुन्छ । त्यसैले व्यापार, मनोरञ्जन र ज्ञानका लागि एक पटक विराट ट्रेड एक्स्पोमा जरुर आउनु होला ।
View : 260
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved