यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबारका खेलमा लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै १०२ रन बनायो । गण्डकीका कप्तान अर्जुन कुमालले ३५ रनको योगदान गरे । सिब्रिन श्रेष्ठले २५ रन जोडे ।
सूदुरका सचिन भट्टले ८ ओभर बलिङ गरी गण्डकीका लागि १३ रन खर्चिएर ५ विकेट लिन सफल हुँदा प्लेयर अफ द म्याच घोषित भए । सचिन बाहेक हेमन्त धामी र युवराज खत्रीले समान २–२ विकेट लिएका थिए ।
१०३ रनको लक्ष्य पाएको सूदुरले २६ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्यो । सूदुरका आशिष लुहारले ३९ रन बनाउँदा युवराज खत्रीले नटआउट २७ रन र नरेन साउदले नटआउट २० रनको योगदान दिए ।
गण्डकीका अपराजित पौडेलले ३ विकेट लिँदा किरण भट्टराई र सिब्रिन श्रेष्ठले १–१ विकेट लिए ।
सूदुरले ३ खेलमा २ मा जित हात पार्दै ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । गण्डकीले खेलेको ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै नेट रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नै भएको अर्काे खेलमा लुम्विनीले बागमती प्रदेशलाई १०२ रनको विशाल अन्तरले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २७८ रनको विशाल स्कोर बनाएको थियो ।
लुम्विनीको यो स्कोर नै यस प्रतियोगिताको बिहीबारसम्मको ११ वटा खेलहरू मध्ये उच्च स्कोर रहेको जनाइएको छ । यसअघि उच्च स्कोर बाग्मतीले गण्डकीविरुद्ध २२९ रन रहेको थियो ।
लुम्विनीका आकाश त्रिपाठीले ७७ रन बनाउँदा सन्तोष यादवले ६३ रन र दिल्साद अलीले नटआउट ५४ रन जोडे । बाग्मतीका दयानन्द मण्डल र दिनेश बिष्टले २–२ विकेट लिए ।
२७९ रनको विजयी लक्ष्य पाएको बागमतीले ४४ दशमलव ४ बलमा अल आउट बन्यो । बागमतीले १७६ रन मात्रै बनाउन सक्यो ।
बागमतीका रोशन विश्वकर्माले अविजित ७३ रन बनाए । सुर्यान्सु कोइरालाले ३२ रन र राजेश बोहराले २१ रनको योगदान दिए ।
लुम्बिनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाठीले पनि ३ विकेट दिए । यादवले १० ओभर बलिङ गर्दै २ मेडन ओभर गर्दै २४ रन मात्र दिएका थिए । त्रिपाठीले ७ दशमलव ४ बलमा ३३ रन दिए ।
खेलको प्लेयर अफ द म्याच त्रिपाठी घोषित भए । लुम्बिनीले जारी प्रतियोगितामा हालसम्म खेलेको ४ वटै खेलमा अपराजित छ । उसले ८ अंक बटुलेर साथ शीर्षमा रहेको छ ।
बाग्मतीले खेलेको ३ खेलमा १ खेलमा जित र २ खेलमा पराजित भएर पाँचौँ स्थानमा छ ।
शुक्रबारको खेल बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा मधेस र सुदूरपश्चिम प्रदेश तथा मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र कर्णाली प्रदेशबीच खेल हुने जनाइएको छ ।
कोशीको लगातार तेस्रो हार
यसैबीच आयोजक कोशी प्रदेश भने आफ्ना अहिलेसम्मका तीनवटै खेलमा पराजित भएको छ ।
बुधबार मात्रै भएको तेस्रो खेलमा घरेलु टिम कोशीले तेस्रो पराजय व्यहोर्नुपरेको हो । गण्डकीसँग कोशी ११४ रनको अन्तरले पराजित भएको छ ।
कोशीले प्रतियोगिताको उद्घाटन खेल मधेस प्रदेशसँग खेलेको थियो । उक्त खेलमा २२ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा पनि लुम्बिनी प्रदेशसँग ७५ रनले पराजित भएको हुनु परेको थियो । सात प्रदेशको टिम सम्मिलित प्रतियोगितामा कोशी प्रदेश छैटौं स्थानमा रहेको छ ।
View : 129
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved