Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

अम्बे कोशी सहकारीको रकम अपचलन

फरार भनिएका कांग्रेस नेता दुलाल खुलेआम, एमाले केन्द्रीय सदस्य सुब्बा ५ लाख धरौटीमा छुटिन्

उद्घोष सम्वाददाता
९ असोज २०८१, बुधवार

सुनसरी । इटहरीको अम्बे कोशी बचत तथा ऋण सहकारीमा बचतकर्ताको करिब ४७ करोड रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानको दायरामा परेका आधाभन्दा बढी अझै फरार छन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक गत मंसिर ९ गते पक्राउ परेका थिए ।

संस्थाका अध्यक्ष फणीन्द्र मगरसहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई बचतकर्ताहरूको करिब ४७ करोड बचत अपचलन गरेको आरोपमा सुनसरी प्रहरीको टोलीले पक्राउ गरेको थियो । उनीहरुसँगको अनुसन्धानको आधारमा थप ५२ जनामाथि मुद्दा दायर गरिए पनि अधिकांश अझै फरार छन् ।

सुरुवातमा पक्राउ परेका चार जनाको बयानको आधारमा प्रहरीले ५६ जनामाथि अनुसन्धान सकेर मुद्दा दायर गरेको थियो । ५६ जनामध्ये संस्थाका अध्यक्ष फणीन्द्र मगर पुर्पक्षको लागि कारागार चलान भैसकेका छन् भने १९ जना धरौटीमा छुटेका छन् । ३५ जना नौ महिनादेखि फरार छन् ।

सहकारीको रकम अपचलन गरी फरार सूचीमा रहेका व्यक्ति राजनितिक पहुंचका भरमा खुल्ला रुपमा सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

नेपाली कांग्रेस सुनसरीका नेता तथा महाधिवेशन प्रतिनिधि रेवतिरमण दुलाल उक्त सहकारी रकम अपचलन मुद्दाका फरार सूचीमा छन् । राजनीतिक पहुंचका भरमा दुलाल खुल्ला रुपमा सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन् । उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नं ४ क बाट उम्मेदवार थिए । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की निकट मानिएका दुलाल त्यसबेला नेकपा एमालेका जगदिशप्रसाद कुसियतसँग पराजति भएका थिए ।

सुनसरीको महेन्द्रनगर घर भई इटहरी–६ बस्ने ५० बर्षीय दुलालले एक करोड ३१ लाख ३२ हजार पाँच सय रुपैयाँ ऋण लिएका थिए । सहकारीमा उनले पाँच लाख ४१ हजार ३० रुपैयाँ व्याज बुझाउनुपर्ने देखिएको छ ।

सहकारीमा उनको १० हजार १४ रुपैयाँ बचत रहेको प्रहरीले दायर गरेको मुद्दामा उल्लेख छ । उक्त सहकारीमा दुलालको दुई लाख ५६ हजार आठ सय रुपैयाँ बराबारको शेयर रहेको अभियोग पत्रमा उल्लेख छ ।

दुलाल अहिले पनि सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन् । मंगलबार उनी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग सुनसरीको एक कार्यक्रममा सहभागी भएका थिए ।

पहुँचकै आधारमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सहकारी अभियानकर्मी समेत रहेकी अमृता सुब्बाले पाँच लाख धरौटी बुझाएर छुटेकी छन् । प्रहरीले नियन्त्रणमा नलिइकन उनी सिधै अदालतमा हाजिर भएर ५ लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले जानकारी दिएको छ ।

सुब्बाको नाम विष्णुमाया भन्ने अमृता सुब्बा भनी उल्लेख छ । उनै सुब्बा राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी बैंककी सञ्चालक सदस्य पनि हुन् । उनी इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाको पूर्वअध्यक्ष समेत हुन् ।

मोरङको सुन्दरहरैंचा स्थायी घर भई इटहरी–४ बस्ने विष्णुमाया भन्ने सुब्बाले सो सहकारीबाट २१ लाख ५५ हजार रुपैयाँ ऋण लिएको देखिएको छ । उक्त सहकारीमा उनले तीन लाख ८२ हजार २ सय २९ रुपैयाँ व्याज र पाँच हजार चार सय १० रुपैयाँ बचत रहेको छ । सो सहकारीमा सुब्बाको नाममा ८३ हजार पाँच सय रुपैयाँ बराबारको शेयर  छ ।

सहकारीका सञ्चालकहरु राहुल अग्रवाल १० लाख, कुमार आले र शिलादेवी गजमेर पाँच लाख धरौटी बुझाएर छुटेका छन् ।  सागर राई १५ लाख, टेकबहादुर चर्मकार तीन लाख, विमला चौधरी मैनाली एक लाख, सुजन चौधरी दुई लाख र सागर चौधरी सात लाख धरौटी बुझाएर छुटेका छन् ।

त्यस्तै आशिका राई दुई लाख, कृष्णबहादुर कट्वाल तीन लाख ५० हजार, तारामान सिरिङ लिम्बू दुई लाख र चन्द्रकुमार गेलाल एक लाख धरौटी बुझाएर छुटेका छन् । यसैगरी तारा राई एक लाख ६५ हजार, भूमिप्रसाद आचार्य एक लाख, खड्ग कोइराला पाँच लाख, शम्भु दाहाल एक लाख ९५ हजार, चुडामणी निरौला एक लाख ७० हजार र भुवनकुमार राउतले एक लाख ५० हजार धरौटी बुझाएका छन् ।

इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीको ४७ करोड ७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले दुलालसहित ५६ जनाबिरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सहकारीका अध्यक्ष फडिन्द्र मगर पुर्पक्षका लागि कारागार चलान भैसकेका छन् भने दुलालसहित २८ बढी व्यक्तिहरु अझै फरार छन् । उनीहरु बिरुद्ध सुनसरी प्रहरीले गत पुस १२ गते मुद्दा दर्ता गरेको थियो । फरार सूचीमा रहेका व्यक्तिहरुलाई पक्राउ गर्न खोजी तीव्र पारेको सुनसरी प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक विपीन रेग्मीको भनाइ छ ।

पाँच हजार बढी सेवाग्राहीहरू रहेको सहकारीमा ३ सय सेयर सदस्य छन् । सहकारीले मोरङको विराटनगर, विराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्रसमेत राखेर कारोबार गर्दै आएको थियो ।

View : 167

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved