दाङ, १७ असोज । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति माध्यमिक विद्यालय हरीपौरीले गरिब तथा द्वन्द्वपीडित विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउँदै आएको छ ।
गरिब, जेहेन्दार, द्वन्द्वपीडित, पिछडिएको वर्ग तथा वडा कार्यालयको सिफारिसमार्फत आउने अन्य विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताए ।
उनका अनुसार विद्यालय व्यवस्थापन समितिले गरिब, द्वन्द्वपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पठनपाठन गराउने निर्णय गरेको हो । सोही विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई प्रमाणपत्र निकाल्न पनि कुनै शुल्क नलाग्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
लक्षित विद्यार्थीको आर्थिक अवस्था कमजोर हुने भएकाले यो निर्णय गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । उक्त विद्यालयमा कक्षा १२ सम्म व्यवस्थापन सङ्कायमा कक्षा सञ्चालन भइरहेका छन् ।
कक्षा ११ र १२ सञ्चालन भएको चार वर्ष भएको बताउँदै अध्यक्ष अधिकारीले एक जना राहात र एकजना स्थायी शिक्षक मात्रै रहेका जानकारी दिए । “व्यवस्थापन सङ्काय सञ्चालन भएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ”, उनले भने, “निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।”
निजी स्रोतका शिक्षकलाई वार्षिक ११ लाख तलब दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरिएकाले निजी शिक्षकलाई तलब खुवाउन सकिएको अध्यक्ष आधिकारीले बताए ।
निजी शिक्षकलाई तलब खुवाउँदा वार्षिक पाँच लाख घाटा हुने बताउँदै उनले अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट सङ्कलन भएको रकमबाट घाटा पूर्ति गर्ने गरिएको जानकारी दिए । यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको भन्दै अध्यक्ष अधिकारीले हालसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरे । रासस
View : 117
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved