Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रिय सभा निर्वाचन: हारजितपछि दुई गठबन्धनभित्र आरोप-प्रत्यारोप

उद्घोष सम्वाददाता
११ माघ २०८०, बिहिवार

विराटनगर । राष्ट्रिय सभा निर्वाचनको परिणामलाई लिएर सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनभित्र आरोप प्रत्यारोप सुरु भएको छ ।

सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीका नेता कार्यकर्ताहरूले कांग्रेससँगको सहकार्य टुंगिएको अभिव्यक्ति दिएका छन् । माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले राजनीतिक योजनाका साथ माओवादीका उम्मेदवारलाई हराइएको आरोप लगाए ।

कांग्रेसका नेता कार्यकर्ताहरूले पनि फ्लोर क्रस गरेर राप्रपाका उद्वव पौडेललाई माओवादीकै सांसदहरूले भोट हालेको टिकाटिप्पणी सामाजिक सञ्जालमार्फत गर्न थालेका छन् । 

एमालेसँग अन्तिम अवस्थामा रणनीतिक सहकार्यको टुंगोमा पुगेको राप्रपाले आफ्ना उम्मेदवारको पराजय अस्वभाविक भएको भन्न थालेको छ ।

स्थानीय तहतर्फबाट एमालेका जनप्रतिनिधिहरूले फ्लोर क्रस गरेको राप्रपाको स्पष्ट बुझाइ छ । त्यसको संकेत मतगणना स्थलमा भेटिएका एमालेका केही जनप्रतिनिधिहरूले समेत गरेका थिए । उनीहरूले ‘राप्रपालाई भोट दिनुभन्दा आफ्नो क्षेत्रका सिटौलालाई भोट हाल्नु उचित हुने’ बताएका थिए ।

बिहीबार कोशी प्रदेशमा दुई सिटका लागि सम्पन्न भएको निर्वाचनमा माओवादीकी कार्की पराजित हुँदा नेकपा एमालेकी रुकमिणी कोइराला महिलातर्फ निर्वाचित भइन् । उनलाई गठबन्धनका तीनजना प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुखहरुको समेत मत प्राप्त भएको हो ।

महिलातर्फ एमालेकी काेइराला निर्वाचित हुँदा एमालेसँग सहकार्य गरेको राप्रपाका पौडेल भने पराजित बने ।अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौलासँग पौडेल पराजित भएका हुन् ।
 

View : 140

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved