Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

थारू कल्याकारी सभाभित्र जहिल्यै कलह, सभापतिको बैधानिकताबारे फेरी चर्कियो विवाद

उद्‌घोष सम्वाददाता
२४ पुष २०८१, बुधवार

विराटनगर । थारू कल्याणकारिणी सभा (थाकस) मोरङमा पद स्वामित्वको बिषयमा देखिएको विवाद थप चुलिएको छ । सभाको मोरङ सभापति प्रदीपकुमार भगत र प्रदीपकुमार विश्वास दुई समूहबीच बितेको बर्षदेखि विवाद चल्दै आएको छ । दुवै समूहले आफूलाई बैधानिक सभापति दाबी गर्ने र एकअर्कालाई नस्वीकारेकाले विवाद हुँदै आएको हो ।

विश्वासले २०८० चैत ७ गते बूढीगंंगामा भएको निर्वाचनबाट आफू सभापतिमा निर्वाचित भएको दाबी गर्दै आएका छन् भने भगत पक्षले केन्द्रले हालसम्म निर्वाचनको अनुमति नदिएकाले चैत ७ को निर्वाचन अबैधानिक रहेको बताएका छन् । 

विवादकै श्रृंखलामा विश्वास समूहले मंगलबार विराटनगरस्थित थारू कल्याणकारिणी सभा भवनमा कार्यक्रम राखेपछि फेरि विवाद चर्किएको हो । सो भवनमा विश्वास समूहले ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई संस्थापन पक्षले रोक्न लगाएको छ । 

विश्वास समूहले अवैधानिक रूपमा सभापतिको हैसियतमा कार्यक्रम गर्न लागिएको भनेर प्रचारप्रसार गरेकाले कार्यक्रम रोक्न प्रहरी प्रशासनलाई जानकारी गराइएको संस्थापन पक्षले जनाएको छ । 

दुई पक्षबीच विवाद चर्किने देखिएपछि थारू भवनमा विहानैदेखि सुरक्षा ब्यवस्था कडा पारिएको थियो । संस्थापन पक्षले भवनमा तालासमेत लगाएकोले विश्वास पक्षले सो ठाउँमा गर्ने भनिएको कार्यक्रम बुढीगंंगामा सारेको  थियो । 

बुढीगंंगा–३ बउराहामा रहेको थारू संग्रहालय भवनमा कार्यक्रम गरिएको छ । आफूहरू झडप र विवाद निम्त्याउने पक्षमा नरहेकाले कार्यक्रम सारिएको विश्वास पक्षका सचिव प्रशान्त चौधरीले बताए ।  

थाकस मोरङ सभापति प्रदीपकुमार भगतले विश्वास समूहले दाबी गर्दै आएको निर्वाचन अवैधानिक रहेको बताए । उनले केन्द्रले निर्वाचन संयोजकको जिम्मेवारी दिएर पठाइएका जयराम पंजियार अवैधानिक गतिविधिमा संलग्न भएको पाईएपछि फागुन ३० गते उनको नेतृत्वको निर्वाचन मण्डलीलाई केन्द्रले नै बिघटन गरेको जानकारी दिए । बिघटन गरिएको निर्वाचन समितिले गराएको निर्वाचन बैध हुन नसक्ने भगतको भनाई छ ।

थाकसको विधान अनुसार सभापतिको उम्मेदवार बन्न एक कार्यकाल कार्यसमितिमा बसेर काम गर्नुपर्ने नियम रहे पनि विश्वास त्यसअघि कार्यसमितिमा नबसेको  भगतले दाबी  गरे । 

हालसम्म निर्वाचन नभएकाले केन्द्रले थाकसको २०८० चैत ३० गते बसेको केन्द्रीय कार्य संचालन समितिको बैठकबाट आफू नेतृत्वकै समितिलाई कार्य सञ्चालनको जिम्मेवारी दिएको भगतको दावी छ ।

View : 55

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved