विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई लैङ्गिक हिंसामुक्त महानगर बनाउन सरोकारवाला सबै संघसंस्थाको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
‘लैङ्गीक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना’ (दोस्रो चरण) को स्थानीय परियोजना सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै मेयर कोइरालाले हिंसा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले सीमित स्रोत साधनका बाबजुद महानगरले भौतिकसँगै मानवीय विकासका कार्यलाई पनि उत्तिकै महत्वका साथ अघि बढाइरहेको उल्लेख गरे ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले लैङ्गिक हिंसा रोकथामका लागि महानगरपालिकाले छुट्टै बजेट नै विनियोजन गरेर कार्य गरिरहेको जानकारी दिइन् ।
हिंसालाई पूर्ण रूपमा नियन्त्रण गर्न चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले यस परियोजनालाई दिगो बनाउन महानगर तयार रहेको बताए । एबीसी नेपालकी अध्यक्ष विष्णु शर्माले परियोजनाको दीर्घकालीन सञ्चालनका लागि महानगरको सहयोग अपरिहार्य रहेको चर्चा गरे ।
कार्यक्रममा सीएमसी नेपालकी मनोसामाजिक संयोजक निशा दाहालले परियोजनाको हालसम्मको कार्यप्रगति र आगामी योजनाहरू प्रस्तुत गरेकी थिइन् ।
बैठकमा गत वर्षका कार्यक्रमहरूको समीक्षा गर्दै भविष्यमा चालिने कदमबारे छलफल गरिएको थियो ।
विराटनगर महानगरपालिकाको लागत साझेदारी, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को आर्थिक सहयोग तथा सीएमसी नेपाल र एबीसी नेपालको समन्वयमा २०७८ असारदेखि यो परियोजना सञ्चालन हुँदै आएको छ ।
बैठकमा महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महिला शाखा प्रमुख मञ्जु लोहनी, माइती नेपालका विनोद पोखरेल र यूएनएफपीएका प्रतिनिधि सरोज भुसाललगायतको उपस्थिति थियो ।
View : 185
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved