विराटनगर । तराईमा जाडो बढेसँगै टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको छ । सामान्य टाउको दुखाइ ठानेर धेरैले घरमै औषधि खाने वा बेवास्ता गर्ने गरे पनि चिकित्सकहरू भने जाडो मौसममा देखिने टाउको दुखाइलाई हल्का रूपमा नलिन आग्रह गर्छन् ।
चिसो हावा र तापक्रममा आएको अचानक परिवर्तन, शरीरमा पानीको कमी, पिनासको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकहरूको भनाइ छ ।
कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्काले जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर अस्पताल आउने बिरामीको संख्या बढ्न थालेको बताउँछन् ।
उनी भन्छन्, ‘जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू संकुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा दुखेको अनुभव गर्छन् ।’
डा. खड्काका अनुसार जाडोमा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी हो ।
उनी भन्छन्, ‘जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउछन् । तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र यसको पहिलो संकेत नै टाउको दुखाइ हुन सक्छ ।’
उनका अनुसार चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्छ । मांसपेशी कडा हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको छ ।
‘विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने र लामो समय एउटै आसनमा बस्ने मानिसमा यस्तो समस्या बढी देखिन्छ । यो दुखाइ विस्तारै दीर्घरूप लिन सक्छ’, उनले भने ।
त्यस्तैगरी जाडो मौसममा पिनासको समस्या भएका व्यक्तिलाई झनै गाह्रो हुने चिकित्सकहरू बताउँछन् ।
नाक बन्द हुने, अनुहारमा असहज हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ ।
चिकित्सकहरुका अनुसार पिनासमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा जाडो मौसमले समस्या झनै बढाउँछ ।
समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहन सक्छ र कहिलेकाही जटिल अवस्थासमेत आउन सक्छ । माइग्रेन (आधा टाउको दुख्ने) का बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन ।
तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी र मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरूको भनाइ छ ।
यसबारे डा. खड्का भन्छन्, माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने समस्या देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो ।
चिकित्सकहरूका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’ को कमी हुन्छ, जसले मांसपेशी दुखाइ, थकान र टाउको दुखाइलाई थप बढाउछ ।
साथै, उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको बढी जोखिममा पर्ने समूहमा पर्छन् ।
सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै डा. खड्का भन्छन्, बारम्बार टाउको दुख्ने, औषधि खादा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ ।
उनी भन्छन्, ‘सही कारण पहिचान गरी समयमै उपचार गरेमा जाडो मौसममा देखिने अधिकांश टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।’
टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउन, न्यानो कपडा लगाएर घाँटी र कान छोप्न, बिहानको घाम ताप्न, लामो समय एउटै आसनमा नबस्न तथा घाँटी र काँधको हल्का व्यायाम गर्न सुझाव दिएका छन् ।
जाडो मौसममा सानो लापरबाहीले पनि ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।
View : 129
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved