पथरीमा १५ वर्षीया बालिकाको हत्या प्रकरण
विराटनगर । मोरङको पथरी नगरपालिका–७ लामाटोलीमा सोमबार राति भएको एक बालिकाको हत्या आरोपमा शंकास्पद ब्यक्ति पक्राउ परेका छन् ।
१५ वर्षीया बालिकाको हत्या आरोपमा उनका प्रेमी बताइएका ३८ वर्षीय युवक पक्राउ परेका हुन् । भर्खर १४ वर्ष पूरा गरेकी सञ्जना भनिने ज्ञानमती थुलुङ राईको सोमबार राति सवा १० बजे घाँटी रेटेर हत्या भएको थियो ।
मोरङको ग्रामथान स्थायी घर भई बाराको जितपुरमा बस्दै आएका धिरेन खाँ थारुलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । तर प्रहरी स्रोतका अनुसार पक्राउ परेका थारुले हत्याको जिम्मा लिइसकेका छैनन् । प्रहरी भने घटनास्थलमा जुत्ताको पाइलाको परीक्षण र बालिकासँगको सम्बन्ध लगायतका आधारमा थारु नै मुख्य हत्यारा हो भन्ने निश्कर्षमा पुगेको हो ।
थारुले हत्या अस्वीकार गर्दै आए पनि उनको जुत्ताको छाप पहिचान गरेर प्रहरीले उनीबाटै हत्या भएको दाबी गरेको छ । ‘दुई जना बीचको सम्बन्धलाई परिवारले स्वीकार गर्ने अवस्था नदेखिएपछि थारुले राईको हत्या गरेका हुन्’ एक प्रहरी अधिकृतले भने । मोरङका प्रहरी उपरीक्षक नवराज कार्की पनि थारुले नै बालिकाको हत्या गरेको बताउँछन् । प्रहरी अहिले पनि उनीविरुद्ध थप सबुत प्रमाण जुटाउने अनुसन्धानमा केन्द्रीत रहेको जनाइएको छ ।
घटना भएको चार घण्टापछि मंगलबार बिहान २ः३० बजे भाउन्नेको जंगलबाट थारु पक्राउ परेका थिए । गत असार १३ मा राईलाई लिएर भारततर्फ जाने क्रममा थारुलाई जोगवनी नाकाबाट सामाजिक संस्थाले रोकेर प्रहरीको जिम्मा लगाएको थियो ।
बालिकालाई पनि परिवारको जिम्मा लगाएको थियो । हत्या लगत्तै अनुसन्धानमा पुगेको प्रहरीले गत असारको घटनालाई आधार मानेर खोजी गर्ने क्रममा थारु पक्राउ परेका हुन् ।
थारुले लगाएको जुत्ताको पैतालाको डाम घटनास्थल नजिकैको बारीमा पाइएको डामसँग मिलेकाले प्रहरी उनले नै हत्या गरेको निश्कर्षमा पुगेको छ ।
खोटाङको ऐसेलुखर्क–६ सल्ले घर घई पथरीस्थित मामाको छोरा विनोद राईको घरमा बसेर कक्षा ७ मा पढ्दै आएकी बालिका राति कोठाबाट बाहिर निस्किएर शौचालय जाने क्रममा हत्या भएको थियो ।
सुत्नुअघि घर बाहिर रहेको शौचालय निस्किएकी बालिका चिच्याएको आवाज आएपछि परिवारका सदस्य बाहिर निस्किएका थिए । बालिका लडेर अचेत अवस्थामा रहेको र छेउछाउमा कोही पनि नदेखिएको बिनोदले प्रहरीलाई बताएका छन् ।
थारु प्रहरीको नियन्त्रणमा आउँदा भाउन्नेको जंगलमा राति पूर्व पश्चिम राजमार्गमा एक्लै फेला परेका थिए । उनले लगाएको पाइन्टमाथि घुँंडामा माटोको डाम देखिएको थियो ।
पारिवारिक समस्याका कारण मामाको छोरा (दाइ) को घरमा बसेर अध्ययनरत बालिकासँग थारुले डेढ वर्षदेखि निकट सम्बन्ध राखेको बताइएको छ ।
वैदेशिक रोजगारीमा रहेका बेला सामाजिक सञ्जालबाट नजिक भएका थारु गत असारमा बालिकालाई भगाएर भारत लैजाने उद्देश्यले बाराबाट आएका थिए । सामाजिक संस्था र प्रहरीले बालिकालाई विनोदको घरमा जिम्मा लगाएपछि थारु र बालिकाको सम्बन्ध टाढिएको एसपी कार्कीले बताए ।
‘कुबेतमा रहेकी श्रीमतीसँग बोलचाल बन्द भएपछि बालिकासँग पनि सम्बन्ध टाढिएकाले थारुले नै हत्या गरेका हुन्’ कार्कीले भने ।
थारु बारामा नै घर बनाएर केही वर्षदेखि बसोबास गर्दै आएका छन् । घटनास्थलमा खुकुरीको दाप भेटिए पनि खुकुरी फेला परेको छैन । थारुले हत्या अस्वीकार गरेकाले थप प्रमाण खोजीमा प्रहरी लागेको छ । उनको फोनको कल डिटेल र मोबाइल लोकेशन आएपछि थप प्रमाणले पुष्टि हुने आशामा प्रहरी छ ।
View : 14254
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved