Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्व सशस्त्र प्रहरीहरु पनि संगठित बन्दै, सेना र नेपाल प्रहरीभन्दा थोरै सुविधा पाएको गुनासो

उद्घोष सम्वाददाता
८ पुष २०८०, आइतवार

सुनसरी । सुरक्षा निकायमा कान्छो मानिने सशस्त्र प्रहरी बलका पूर्व सुरक्षाकर्मीका समस्या अरुको भन्दा फरक छन् । नेपाली सेना र नेपाल प्रहरीका पूर्व कर्मचारीले जसरी सेवा पाएका छन् त्यसको तुलनामा सशस्त्रका भूतपूर्वले शून्य सरह सुबिधा लिएको उनीहरुले गुनासो गरेका छन् ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघ गठन भएपनि सशस्त्र प्रहरीबाट सेवा निवृत्त भएका सुरक्षाकर्मी संगठित भइसकेका छैनन् ।

बहालवाला सुरक्षाकर्मी सरह उपचार, ऋण, शिक्षामा सहयोग नपाएको उनीहरुको गुनासो छ । संघको कोशी प्रदेश, सुनसरी, मोरङ र उदयपुर समितिको संयुक्त रुपमा सुनसरीको बक्लौरीमा भएको प्रथम अधिवेशनमा यस्तो समस्या पोखिएको हो ।

सशस्त्रका भूतपूर्वलाई सहयोग गर्न उनीहरुले गरेका उत्पादनलाई बजार मूल्यभन्दा बढीमा खरिद गर्न प्रतिवद्ध रहेको नायव महानिरीक्षक अन्जनीकुमार पोखरेलले बताए ।

सशस्त्र द्वन्द्वकालमा बर्दीबासमा मारिएका सशस्त्रका जवान बद्री पौडेलका बाबु नारायण पौडेल, सर्लाहीमा मारिएका जवान राजन कटुवालकी आमा विष्णुमाया कटुवाललाई सो समारोहमा नायव महानिरीक्षक पोखरेललगायतले नगदसहित सम्मान गरे ।

उनले सशस्त्रका पूर्व सदस्यले उत्पादन गरेका कृषि उपजलाई बजार मूल्य भन्दा कम मूल्यमा सशस्त्र प्रहरी वलका सबै युनिटले खरिद गरेर सहयोग गर्ने आश्वासन दिंदै उनले भूतपूर्व भएपनि हतियार बोकेर राज्यको आवश्यकतामा उत्रिन तयार हुन सक्नु पर्ने बताए । वर्दी लगाएका सुरक्षाकर्मी सरह भूतपूर्वले संगठनबाट सहयोग पाउने उनले आश्वासन दिए ।

पूर्व सशस्त्र प्रहरीको कार्यक्रममा नेपाल प्रहरीबाट ज्यान गुमाएका उदयपुर बेलका–८ का डिल्लीबहादुर खड्काकी श्रीमती डम्बरकुमारीलाई पनि सम्मान गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रहरी र नेपाली सेनाका कर्मचारीलाई मिलाएर २०५८ सालमा स्थापना गरिएको संस्था हो । माओबादीको सशस्त्र द्वन्द्वकालमा सेनामा पनि क्षति हुन थालेपनि नेपाल सरकारले यो बल गठन गरेको थियो ।

संघका केन्द्रीय अध्यक्ष सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक रविराज थापाले देशभरका पूर्वकर्मचारीका समस्या समाधान गर्न आफूहरु संगठित भएको बताए ।

देशका ६ प्रदेश र २४ जिल्लामा संघ गठन भई सकेको छ । संघका कोशी प्रदेश अध्यक्ष तथा पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हृदयनारायण मण्डलले घरघरमा बिलिएर बसेका सशस्त्रका पूर्व सहकर्मीको समस्यालाई साझा बनाएर देशभरबाट समाधानको प्रयास थालिएको जानकारी दिए ।

प्रदेश र तीन जिल्लाको अधिवेशनको सफलताको कामना गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लिखित सन्देश पठाएका थिए ।

प्रदेश संघका सचिव तथा पूर्व उपरीक्षक रामकुमार सिंहले आफ्ना पुराना साथीहरुको समस्या बुझ्न निजी खर्चमा जिल्ला जिल्ला घुमेर संघलाई ब्यवस्थित गरिएको बताए ।

नेपालमा द्वन्द्व चरम उत्कर्षमा रहेका बेला स्थापित सशस्त्र प्रहरीबाट सेवा निवृत्त भएका पूर्वसुरक्षाकर्मी कोशी प्रदेशमा कति छन् भन्ने कतैपनि स्पष्ट तथ्याङ्क छैन ।

View : 171

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved