विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीको अगुवाईमा कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा सवा दुई लाख डलर बराबरको सहयोग जुटाएको छ ।
‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ झन्ने नाराका साथ सक्रिय रहेको लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीको सत्रियतामा २ लाख १७ हजार ५५९ डलर अर्थात नेपाली दुई करोड ९१ लाख ३५ हजार रुपैयाँ बराबरको सहयोग जुटाएको हो ।
उक्त रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधा सम्पन्न खाना खाने किचन घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने जनाइएको छ ।
लायन्स क्लव अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसीआइएफ) ले त्यसका लागि उक्त बजेट स्वीकृत गरेको लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयहरि शर्माले जानकारी दिए । उनले लायन्सको तर्फबाट सामाजिक कार्यमा विगतदेखि नै सहयोग गर्दै आएकोमा सवैको पहलमा अन्तर्राष्ट्रिय स्तरबाटै ठुलो रकम प्राप्त भएको बताए ।
‘मानव सेवा आश्रममा आश्रय लिइरहेका व्यक्तिहरुलाई खाना खाने ठाउँको अभाव रहेको कुरा आइरहेको थियो, सडकबाट ल्याएर राखिएका मान्छेले राम्रोसँग खाना खान पनि पाएका थिएनन्, माया घरमा सडकमा बसेका बालबालिकाहरु र हिंसामा परेका महिलाहरुलाई बस्ने ठाउँ थिएन’ उनले भने, ‘लायन्सको तर्फबाट ठुलो रकम सहयोग प्राप्त भएको छ, यसले राष्ट्रका लागि लायन्सले गर्नसक्ने सहयोगको महत्व अझ बढाएर लगेको छ ।’
दुवै ठाउँमा तुरुन्तै भवन संरचना निर्माणको सम्झौता सम्पन्न हुने र निर्माण कार्य सुरु गरिने जानकारी दिए । एक बर्षभित्रै पूर्वाधार निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने बताए ।
एलसीआइएफको बोर्ड अफ ट्रष्टले मानव सेवा आश्रमका लागि १ लाख १७ हजार ६६९ डलर र माया घर निर्माणका लागि ९९ हजार ८९० डलर सहयोग स्वीकृत गरेको हो ।
गभर्नर शर्माले आफ्नो समेत संलग्नतामा महत्वपूर्ण दुईवटा पूर्वाधार निर्माणमा योगदान पुर्याउन पाएको भन्दै जीवनमै सवैभन्दा धेरै खुसी भएको बताए । सहयोग रकम स्वीकृतिका लागि लायन्समा आवद्ध भएर सहयोग गर्ने सवैलाई उनले धन्यवाद समेत दिएका छन् ।
View : 1888
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved