Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सीमामा मुङ्ग्री माछा समस्या बन्दै

उद्घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । सीमावर्ती क्षेत्रमा मुङ्ग्री माछा सुरक्षाकर्मीका लागि घाँडो भएको छ । अन्य जातका माछा भारतबाट आयातमा रोक नलागे पनि यो माछाको खोजीमा सुरक्षाकर्मी लागेका भेटिन्छन् । 

मुङ्ग्री जातको माछा नियन्त्रणमा लिएपछि नष्ट गर्नुपर्ने प्रावधान छ । आइतबार सुनसरीको सीमावर्ती क्षेत्रबाट ४ सय किलो माछा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । बराहक्षेत्र–११ मधुवनबाट सो माछा सशस्त्रले नियन्त्रणमा लिएको थियो । मधुवन क्षेत्र स्थानीय माछा उत्पादनमा अग्र स्थानमा रहेको ठाउँ भए पनि भारतबाट आयात गरेर बिक्री गर्ने गरिएको पाइएको हो । 

पक्राउ गरिएको जिउँदो माछा खाडी खनेर पुरिने गरिएको छ । सीमापारि भारतमा कृषि उत्पादनमा सरकारको अनुदान हुने भएकाले कम मुल्यमा माछा उत्पादन हुन्छ । भारतको तुलनामा नेपालमा कृषि उपज महँगो हुने भएकाले सरकारले प्रतिबन्ध लगाएका वस्तु पनि सुरक्षाकर्मीलाई झुक्याएर नेपाल भित्र्याइने गरिएको छ ।

सीमावर्ती बजार नेपालमा ल्याएर त्यहाँका किसान तथा खुद्रा ब्यापारीले बेचबिखन गर्ने गरेका छन् । मुङ्ग्री माछा र कुखुरा रोक्ने आदेशअनुसार कारवाही गर्ने गरिएको सशस्त्रको ४ नम्बर गण हेडक्वाटर सुनसरीका प्रमुख लकेश तुम्बाहाम्फेले बताए । उनका अनुसार सीमा क्षेत्रमा वर्षौदेखि यसको कारोबार हुने गरेको पाइएको छ ।

संक्रमण हुने खालका रोग उक्त जातका माछा र कुखुरामा हुने भएकाले सीमामा नियन्त्रणमा लिएर क्वारेन्टाइन कार्यालयको निगरानीमा खाडी खनेर पुरिने गरिएको उनको भनाइ छ ।

सुनसरी सशस्त्रका अनुसार सिसाका ग्लासमा समेत तस्करी भएर आएकोमा ती पनि नियन्त्रणमा लिइएको छ । काँचको ग्लास, प्लाष्टिकका भाँडालगायतका सामग्री आइतबार नै भन्सार कार्यालयमा बुझाइएको छ ।

तुम्बाहाम्फेका अनुसार आइतबार सेतुबन्ध भन्सार कार्यालयमा २ लाख १६ हजार रुपैयाँ बराबरका सामग्री कारवाहीका लागि बुझाइएको छ ।

View : 153

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved