Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

मोरङमा क्षतिको विवरण संकलन गर्नै मुस्किल

उद्‌घोष संवाददाता
३१ भदौ २०८२, मङ्गलवार

विराटनगर । मोरङमा भदौ २४ गते जेन जी समुहको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण प्राप्त गर्न मुस्किल परेको छ । 

क्षतिको विवरण संकलन गर्ने जिल्ला प्रशासन कार्यालय मोरङ नै स्वयंम् आगजनीबाट ध्वस्त बनेका कारण प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव कार्यालयपरिसरमा एउटा सटरमा कार्यकक्ष बनाएर बस्न बाध्य भएका छन् । 

उनले संघीय सरकार अन्तरगतका कार्यालयमा भएको क्षतिको विवरण संकलन जारी रहेको जानकारी दिए । अधिकांश कार्यालयहरूमा तोडफोड र आगजनी भएका कारण क्षतिको वास्तविक विवरण संकलन हुन समय लागिरहेको बताए ।

आइतबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूको बैठक बसेर क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको जनाइएको छ । 

सोमबार जिल्लाका सवै स्थानीय पालिकाहरूका प्रमुख तथा उपप्रमुखसहित जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर यथार्थ क्षतिको लगत संकलन गर्ने र प्रहरीको सहयोगमा मुचुल्का उठाएर विवरणलाई क्षति मुल्यांकन समितिमा पेश गर्ने निर्णय गरिएको प्रजिअ यादवले बताए ।

मोरङमा जिल्ला प्रशासन कार्यालयसहित सडक डिभिजन कार्यालय, कर्मचारी संचय कोष, आन्तरिक राजश्व कार्यालय लगायत पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोडबाट भएको क्षतिको पुनःर्निमाण गर्न सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४५ बमोजिम विशेष परिस्थितिको खरिदको व्यवस्था बमोजिम आकस्मिक खरिद कार्य गर्नुपर्ने भएमा त्यसको मात्रा र गूणस्तरको सुची तयार गरी खरिद गर्ने निर्णय गरेको छ ।

विगतमा सम्झौता भई संचालित आयोजना तथा कार्यक्रमहरूको निर्माण कार्य सुचारु गर्ने गराउने, आन्दोलनमा क्षति भएका वारुणयन्त्र अबिलम्ब मर्मत गरी संचालन गर्ने समेत निर्णय गरेको प्रजिअ यादवले जानकारी दिए । 

त्यसैगरी विपदको समयमा कालोबजारी, मुल्यवृद्धि समेत हुन सक्ने भएकोले आपूर्ति बजार प्रणालीको प्रत्येक पालिकास्तरमा नियमित रुपमा अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

View : 331

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved