विराटनगर । फागुन २१ को निर्वाचनमा उदयपुर जिल्लाको दुईवटा निर्वाचन क्षेत्रका लागि अधिकांश दलले उम्मेदवार टुंग्याएका छन् ।
नेकपा एमालेले आइतबार नै उम्मेदवार टुंग्याएको हो । नेपाली कांग्रेस र नेकपाले सोमबार आफ्ना उम्मेदवार टुंग्याएका हुन् ।
एमालेले क्षेत्र नम्बर १ मा दुर्गा कुमार थापा (स्वस्ती) लाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्बर २ मा निवर्तमान सांसद अम्बर रायमाझी पुनः उम्मेदवार बनेका हुन् । क्षेत्र नं. १ को टिकट पाएका थापा बेलका नगरपालिकाका पूर्व मेयर हुन् ।
कांग्रेसले क्षेत्र नम्बर १ मा पूर्व पार्टी सभापति एवं विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका बिदुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्बर २ मा कांग्रेससँग लामो समयदेखि असन्तुष्टि राख्दै आएका राम कुमार राईलाई टिकट दिइएको छ । राई अघिल्लो निर्वाचनमा स्वतन्त्र रुपमा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पनि उदयपुरका दुवै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । क्षेत्र नम्बर १ मा बलदेव चौधरी र क्षेत्र नम्बर २ मा सुरेश राईलाई उम्मेदवार बनाएको हो । चौधरी नेकपा अघिको एकीकृत समाजवादी निकट हुन् । राई माओवादी नेता हुन् ।
राप्रपाले क्षेत्र नम्बर १ मा शुभाष चन्द्र खड्कालाई उम्मेवार बनाएको छ । क्षेत्र नं. २ मा उम्मेदवार टुंग्याउन बाँकी छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट क्षेत्र नम्बर २ मा बलराज राईलाई उम्मेदवार बनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका अन्य दलहरूले भने दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन बाँकी रहेको जनाइएको छ ।
View : 180
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved