विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका शिक्षासेवी स्वर्गीय रविदानन्द चौधरीको स्मृतिमा ‘प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता’ हुने भएको छ ।
ग्रामथानस्थित नेताचोक टाइगर क्लवको आयोजनामा असोज २९ देखि कात्तिक ६ गतेसम्म हुने उक्त फुटबल प्रतियोगितामा आठवटा टोली सहभागी हुने क्लवका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए । फुटबल प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले सम्पूर्ण खेल नकआउट चरणमा हुने बताए ।
क्लबका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले प्रतियोगिताका सवै खेल ग्रामथान–७ गणेश माविको खेल मैदानमा हुने जानकारी दिए ।
प्रतियोगितामा आयोजक नेता चोक टाइगर क्लबसहित रंगशाला भेट्रान क्लव, विराटनगर युनाइटेड क्लव, चर्च इसाई युनाइटेड इटहरी, वराह भेट्रान बराहक्षेत्र, बोराबाध भेट्रान बेलबारी, विराट भेट्रान क्लव विराटनगर र जनता भेट्रान सुनसरीको सहभागिता रहने उनले बताए ।
स्वर्गीय चौधरीले स्थापना गरेको स्थानीय पशुपति सेकेण्डरी बोर्डिङ स्कुलको मुख्य प्रायोजनमा प्रतियोगिता हुने जनाइएको छ ।
प्रतियोगिताका विजेतालाई नगद ३१ हजार र उपविजेतालाई २१ हजार रुपैयाँ पुरस्कार राशि दिइने क्लवका सचिव अविन गिरीले जानकारी दिए । उनले प्रतियोगिताको म्यान अफ द म्याच फाइनललाई ७ हजार, उत्कृष्ट खेलाडी र गोलरक्षकलाई ५–५ हजार तथा हरेक खेलमा म्यान अफ द म्याचलाई एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए ।
प्रतियोगिता सम्पन्न गर्न क्लवले ५ लाख ५५ हजार रुपैयाँको खर्च अनुमान गरेको जनाइएको छ । गोलाप्रथाबाट तय भएको उद्घाटन खेल आयोजक नेताचोक टाइगर क्लब र विराटनगर युनाइटेडबीच हुने जनाइएको छ ।
उक्त अवसरमा फुटबलका माध्यमबाट अनुशासनको प्रवर्द्धन गर्नका लागि गत बर्षमात्रै स्थापना भएको क्लवले महत्वपूर्ण योगदान गर्ने भन्दै शुभेच्छुकहरुले शुभकामना दिएका थिए ।
View : 108
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved