Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

१० विद्यालयका छात्रासँग किशोरी सचेतना

उद्घोष सम्वाददाता
१८ चैत २०८०, आइतवार

विराटनगर । विराटनगरका १० वटा सामुदायिक विद्यालयका छात्राहरूलाई सहभागी गराएर किशोरी सचेतना कार्यक्रम गरिएको छ । 

गरिव दलित महिला समृद्ध अभियान नेपालको आयोजना तथा योगमाया न्यौपाने फाउण्डेशनको सहकार्यमा विराटनगरको सत्यनारायण माविमा छाक्राहरूलाई सचेतना कार्यत्रम गरिएको हो ।

उनीहरूलाई सामाजिक सञ्जाल र इन्टरनेटको दुरुपयोगबाट हुन सक्ने जोखिम, महिला हिंसा, दुर्व्यवहार लगायतका बिषयमा सचेतना गराइएको अभियानकी अध्यक्ष चन्दारवि दासले बताइन् ।

कोशी प्रदेशकी पूर्वसांसद एवं योगमाया न्यौपाने फाउण्डेशनकी संरक्षक यसोदा अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रविधिका माध्यमबाट हुने अपराध न्यूनीकरणका लागि सचेतना अभियान आवश्यक रहेको बताए । उनले लैंगिक हिंसा अन्त्य गर्न सबै क्षेत्रका सरोकारवालाहरू एक जुट हुनुपर्नेमा जोड दिए ।

सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक दुर्गा राईले साइबर क्राइम र साइबर सुरक्षासम्बन्धी सहभागी विषयमा विद्यार्थी माझ प्रस्तुतिकरण गरेका थिए ।

त्यसैगरी कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी प्रतिनिधि सुनिता भट्टराईले महिला तथा बालबालिकाहरूको संरक्षणमा प्रदेश सरकारले बनाएको कार्यक्रमहरूबारे जानकारी दिइन् ।

योगमाया न्यौपाने फाउण्डेशनकी अध्यक्ष एवं बरिष्ठ अधिवक्ता सीता पौडेलले हिंसा तथा दुर्व्यवहारविरुद्ध कानूनमा रहेका व्यवस्थाहरूबारे धारणा राखेकी थिइन् ।

कार्यक्रममा १० वटा सामुदायिक विद्यालयका ५–५ जना छात्राहरू र विद्यालयका शिक्षक प्रतिनिधिको उपस्थिति रहेको थियो । सत्यनारायण माविका प्रधानाध्यापक पुरुषोत्तम गुरागार्इं, कल्प वुमन इम्पावर वुमेन नेपालकी अध्यक्ष पुजा कोइराला लगायतले धारणा व्यक्त गरेका थिए ।

View : 215

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved