विराटनगर, १७ कात्तिक : नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले कोशी प्रदेशका एमालेको आग्रह विपरित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराएका छन् । माओवादीबाट गणेश उप्रेति र नेकपा एसबाट कमल प्रसाद जवेगु बिनाबिभागीय मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त दुई बिनाविभागीय मन्त्रीहरुले शुक्रबार नै प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
मुख्यमन्त्री कार्कीले एमालेको आग्रह विपरित माओवादी र नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याउन लागेका हुन् । शुक्रबार साँझ करीव सात बजे दुई बिनाबिभागीय मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई नेकपा एमालेका ३९ र नेपाली कांग्रेसबाट ८ सांसदको समर्थन थियो । सत्ता गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका कार्कीलाई मुख्यमन्त्री बनाउँदा गठबन्धन टुट्ने अनुमानसहित एमालेले सवै शक्ति खर्चिएको थियो । तर मुख्यमन्त्री कार्कीले शुक्रबार नै एमालेको सहमति बिना माओवादी र नेकपा एसलाई सहभागी गराएका हुन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले वर्तमान मन्त्रिमण्डलमा माओवादीसहितका दलहरु समेतलाई ल्याउने जानकारी आफुले अनौपचारिक स्रोतबाट पाएको जानकारी दिंदै त्यसो भएको खण्डमा दलको बैठक बसेर निर्णयमा पुग्ने बताए ।
‘हामीले माओवादी बाहेकको सरकार रहँदासम्म सरकारलाई साथ दिने कुरा पहिल्यै गरिसकेका छौं’ भण्डारीले भने, ‘कसलाई सरकारमा ल्याउने नल्याउने भन्ने कुरा वहाँको हो, हाम्रो सहमति विपरित भएको कुरामा हामी पनि हाम्रो लागि उचित निर्णय गर्छौं ।’
View : 367
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved