विराटनगर । कोशी प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम प्रदेशलाई छान्नै नदिने र आफू पनि छान्न नसक्ने केन्द्रीय नेतृत्वको अकर्मण्य कार्यशैलीले कोशीमा कांग्रेस अनिर्णयको बन्दी बनेको छ ।
मन्त्रीहरुको नाम टुङ्ग्याउने एक महिनाभन्दा लामो प्रयास विफल भएपछि कांग्रेस शुक्रबार कोशी प्रदेशसभाको बैठकमा मन्त्री बेगरै उपस्थित हुने भएको छ । यद्यपि मुख्यमन्क्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई समर्थन गर्दै कांग्रेस शुत्रबारदेखि सदनमा सत्ता पक्षको लहरमा बस्ने भएको छ ।
कम्तीमा एकै जनालाई भए पनि मन्त्री बनाएर पठाउने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत नभएपछि अन्ततः कांग्रेस मन्त्री बेगर नै प्रदेशसभाका उपस्थित हुने भएको हो ।
‘मन्त्रीहरुको नाम टुंगो लाग्न अझै केही दिन लाग्छ । शुक्रबारदेखि हामी सत्तापक्षको लहरमा बस्छौं’, कांग्रेस कोशीका प्रमुख सचेतक गोपाल तामाङले भने ‘हामी सरकारलाई समर्थन दिएको औपचारिक पत्र प्रेषित गर्दैछौं ।’
दुई महिनाभन्दा लामो समयदेखि अनिश्चितकालीन स्थगनमा रहेको प्रदेशसभाको बैठक शुक्रबार सुरु हुँदैछ । यो बैठकको दिन कांग्रेस कोशीमा मन्त्रीहरुसहित उपस्थित हुने भन्दै कांग्रेस नेताहरुले यसअघि सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
तर, आन्तरिक भागबन्डाको किचलोमा फसेको कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाउन नसक्दा माओवादीले सरकार छाडेको महिना दिन बित्दासमेत उसले सरकारमा सहभागिता जनाउन सकेको छैन ।
कांग्रेस नेताहरुका अनुसार बिहीबार काठमाडौंमा सभापति देउवा निवासमा महामन्त्रीहरुसहितको पदाधिकारी बैठक भएको थियो । बिहान ९ बजेदेखि ११ बजेसम्म चलेको बैठकमा कोशी र गण्डकी सरकारबारे मात्रै छलफल भएको तर कुनै निष्कर्ष निस्कन नसकेको नेताहरुले जानकारी दिए ।
कोशीमा मन्त्रीहरुको नाम टुङ्गो लगाउन नसकेको कांग्रेसलाई गण्डकीमा एमालेले दुःख दिइरहेको छ । खासगरी फणिन्द्र देवकोटा र दीपक मनाङ्गेलाई सरकारबाट हटाउनु पर्ने एमाले प्रस्तावमा मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डे सहमत नभएपछि गण्डकीमा एमाले सरकारमा जान मानिरहेको छैन । तर मन्त्रालय बाँडफाँटमा भने सहमति भैसकेको बताइएको छ ।
कोशी संसदीय दलका उपनेता हिमाल कार्कीले गण्डकी र कोशीबारे छलफल भइरहेको र छिट्टै नाम टुंगो लाग्ने दाबी गरे । उनले यसो भने पनि बिहीबारको पदाधिकारी बैठकमा महामन्त्रीद्वय थापा र शर्माले दलको नेताले यसअघि नै भदौ १४ मा मन्त्रीसहित सदनमा जाने भनेको स्मरण गराउँदै एक जना भए पनि मन्त्री बनाएर जानुपर्ने बताएका थिए । त्यसक्रममा देउवाले गण्डकीमा एमालेले सकारात्मक कुरा नगरेसम्म मन्त्री नपठाउन भनेको स्रोतको भनाइ छ ।
‘आजभोलि नै मेरो ओलीजीसित कुरा हुँदैछ, त्यसपछि एकैचोटी नाम टुंगो लगाउँ, गण्डकीको पनि कुरा मिलाउनुपर्छ’, बैठकमा देउवाले भनेको कुरा उद्धृत गर्दै एक नेताले भने ‘अबको दुई चार दिनमा टुङ्गो लाग्छ । त्यतिन्जेल सरकारलाई समर्थन गर्ने, सत्ता पक्षमा बसेर सदनमा सहभागी हुनु भनेर कोशीलाई भन्नुपर्छ ।’
सभापति देउवाको यस्तो निर्देशनपछि कोशी संसदीय दलका नेता उद्धव थापा, उपनेता हिमाल कार्कीसहितका नेताहरु शुक्रबार बिहान काठमाडौंबाट विराटनगर आउँदैछन् ।
साउन ११ गते कोशी सरकारबाट माओवादी बाहिरिएपछि कांग्रेस कोशीका सांसदहरु मन्त्री बन्ने लविङका लागि काठमाडौं गएका थिए । तर, अहिलेसम्म नामबारे टुङ्गो नलागेपछि उनीहरु रित्तै विराटनगर फर्किरहेका छन् ।
कांग्रेसमा मन्त्री बन्ने आकांक्षीहरुको लर्को लागेको छ । धेरै आकांक्षी हुँदा र गुटगत भागबन्डा टुङ्ग्याउन सकस पर्दा कोशीमा कांग्रेस अनिर्णयको बन्दी बनेको हो । कांग्रेस नेताहरुले कोशीका सांसदहरुमध्ये उद्धव थापा र केदार कार्कीबाहेक अरु सबै मन्त्रीका दाबेदार रहेको र सबैले दबाब दिइरहेको बताइरहेका छन् ।
प्रदेशको समिति तथा संसदीय दललाई मन्त्री चयन गर्ने मामिलामा भूमिकाविहीन तुल्याएको कांग्रेस केन्द्रले पनि समयमै मन्त्रीको नाम नदिंदा कोशीमा पार्टी बद्नाम बनेको सांसदहरु बताउँछन् । सरकारमा सहभागी हुन एकपछि अर्को भाखा गुजार्दै लगेको कांग्रेसभित्र प्रदेशलाई भूमिकाहीन तुल्याएकोमा पनि असन्तोष छ ।
‘दुई चार जना मन्त्रीको नाम छान्ने दौड चलेको महिना दिनभन्दा बढी भयो’, कांग्रेस कोशीका एक सांसदले भने ‘कि नाम टुंगो लगाउने अधिकार प्रदेशलाई दिनु, कि केन्द्रले बेलैमा निर्णय दिनु । यस्तो अनिर्णयको बन्दी बनेर पार्टीको साख माथि उठ्दैन ।’
संघीयता बलियो बनाउन पार्टीका प्रदेशस्थित संयन्क्रहरुलाई त्रियाशील र अधिकारसम्पन्न तुल्याउन केन्द्रीय नेतृत्वले वेवास्ता गरेको नेताहरु बताउँछन् ।
‘प्रदेशमा पठाउने मन्त्री प्रदेश समितिबाटै छान्न दिएको भए यतिबेला मन्त्रीहरु तीव्र गतिमा काम गरिरहेका हुने थिए’,ती सांसदको भनाइ छ ‘गुटगत भागबन्डा मिलाउन भनेको छ, कहिले गण्डकीको बहाना गरेको छ । यसरी त पार्टीको प्रदेश समितिको के अर्थ भयो ?’
कोशीमा कांग्रेसले तीन वटा गुटलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । संस्थापन समूहमै देउवा र कृष्णप्रसाद सिटौला समूह रहेको कोशीमा संस्थापन इतरमा शेखर कोइराला पक्ष छ । देउवा समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, मैयाँ श्रेष्ठ लगायतका सांसदहरु मन्त्री बन्ने दौडमा छन् भने सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई दौडमा छन् ।
शेखर पक्षबाट गोविन्द गिरी, मानबहादुर लिम्बू, रामकुमार खत्री लगायतका सांसद मन्त्री बन्ने होडमा सहभागी छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि मानबहादुर लिम्बू र विनोद वान्तावालाई मन्त्री बनाउन सभापतिलाई दबाब दिइरहेका छन् ।
View : 152
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved