विराटनगर । झापाको गौरादह उद्योग वाणिज्य संघको आगामी निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मीले उत्कर्ष रूप लिएको छ। यसपटकको निर्वाचनमा परम्परागत राजनीतिक शक्ति सन्तुलन र पुरानो कार्यशैलीलाई चुनौती दिँदै ३३ वर्षीय युवा व्यवसायी अनिश कार्कीले स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
जसका कारण गौरादहको व्यावसायिक तथा राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको हो। दुई वर्षअघि सम्पन्न निर्वाचनमा सर्वाधिक मतसहित सदस्य पदमा विजयी कार्कीले यसपटक नेतृत्वकै लागि दाबेदारी पेस गरेपछि स्थानीय बजार क्षेत्रमा चुनावी बहसले नयाँ मोड लिएको छ।
देशभरि नै स्वतन्त्र उम्मेदवारहरूको उदय र परिवर्तनको लहर चलिरहेका बेला देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा पर्ने गौरादहमा कार्कीको चर्चा चुलिनुलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी नयाँ सोच र जोस भएका युवा व्यवसायीहरूले ‘परिवर्तनका लागि युवा नेतृत्व’ भन्दै कार्कीको पक्षमा समर्थन जनाउन थालेका छन्।
विगतका निर्वाचनहरूमा राजनीतिक भागबण्डा र गुटगत प्रभाव हाबी हुने गरेको भन्दै संघलाई राजनीतिक केन्द्र बनाइएको आरोप लाग्ने गरेको पृष्ठभूमिमा यसपटकको स्वतन्त्र उम्मेदवारीले पुराना अभ्यासहरूमाथि गम्भीर प्रश्न उठाएको छ।
वर्तमान समयमा देखिएको आर्थिक मन्दी र त्यसले स्थानीय व्यापारमा पारेको नकारात्मक असरलाई चिर्दै बजारलाई चलायमान बनाउनु नै यसपटकको मुख्य चुनावी एजेन्डा बनेको छ।
आकांक्षी कार्कीले नयाँ दूरदृष्टिका साथ स्थानीय व्यवसायीको हकहित र व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेर संघलाई अघि बढाउने संकल्प अघि सारेका छन्। यता, अध्यक्ष पदकै लागि एमाले निकट मानिएका ६१ वर्षीय दिल बहादुर खत्री, र कांग्रेस निकट ४४ वर्षीय ईश्वर अधिकारी खत्रीको पनि बलियो चर्चा भइरहेको छ।
लामो समयदेखि व्यावसायिक अनुभव बटुलेका पुराना अनुहार र परिवर्तनको मुद्दा बोकेका युवा उम्मेदवारबीचको यो प्रतिस्पर्धाले गौरादहमा रोचक माहोल सिर्जना गरेको छ।
स्थानीय व्यवसायीहरूका अनुसार यसपटकको निर्वाचन केवल पद प्राप्तिका लागि नभई नेतृत्वको नयाँ कार्यशैली र प्रभावकारिताको परीक्षण गर्ने महत्त्वपूर्ण अवसर हुनेछ। अनुभवी र युवा उम्मेदवारबीचको यो त्रिपक्षीय भिडन्तले गौरादह उद्योग वाणिज्य संघमा कस्तो नेतृत्व स्थापित गर्छ भन्ने विषय अहिले सबैको चासोको केन्द्र बनेको छ।
View : 215
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved