विराटनगर । अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा एउटा जलविद्युत आयोजनामा कार्यरत दुई जना मजदुर बेपत्ता भएका छन ।
उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले बगाउँदा जलविद्युत् आयोजनाका दुईजना कामदार हराइरहेका छन् ।
बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेको जनाइएको छ ।
बाढीमा परेका २६ वर्षीय राम किसन थारूको भने उद्धार गरिएको थियो । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको र बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा प्रहरी टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको जनाइएको छ ।
घटनास्थल पुगेको प्रहरीले रातीको अविरल बर्षापछि पहिरो दुई ठाउँमा खसेर खोला थुनिएको र थुनिएको खोला फुटेर एक्कासी बाढी आउँदा उनीहरुलाई बगाएको हुनसक्ने अनुमान गरेको छ ।
View : 163
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved