Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

धरानमा पानीको ‘इगो’ अन्त्य, दैनिक ४० लाख लिटर पानी थपिदै

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

विराटनगर । मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएर चुनावी अभियानमा जुटे लगत्तै धरानको खानेपानी समस्या समाधानको महत्वपूर्ण बाटो खुलेको छ । 

कोशी प्रदेश सरकारको खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयले पाँच करोड रुपैयाँ बढी खर्चिएर दैनिक कम्तिमा ४० लाख लिटर पानी वितरण हुने आयोजनाले सञ्चालनको दिशातिर अघि बढेको हो ।

खानेपानी समस्यालाई नै चुनावी एजेण्डा बनाएर उदाएका तत्कालीन मेयर हर्क साम्पाङको राजीनामा लगत्तै कार्यवाहक मेयरको जिम्मेवारी पाएका उपमेयर आईन्द्रविक्रम बेघा पनि खानेपानीकै समस्या समाधान गर्न कस्सिएका छन् । 

खानेपानी बोर्डको अध्यक्ष समेत रहेका बेघाले प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएर पनि प्रयोग नगरी राखिएको डिप ट्यूवेलबाट भूमिगत पानीलाई खानेपानी वितरण प्रणालीमा पठाउने कार्यलाई अघि बढाएका हुन् ।

केही दिनअघिमात्रै धरानका नागरिक अगुवाहरूले प्रदेश सरकारको लगानीमा निर्माण गरिएको खानेपानीको डिप ट्यूवेल सञ्चालन हुन नसकेको भन्दै उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए । 

धरानको तीन स्थानमा डिप ट्यूवेल जडान गरी पानीको परीक्षण समेत लगभग पूरा भइसकेको थियो । तर तत्कालीन मेयर साम्पाङले तीनै ठाउँको डिप ट्यूवेल सञ्चालन गर्दा

उपमहानगरपालिकालाई मासिक लाखौं रुपैयाँ विद्युत महसुलको भार बढ्ने भन्दै आयोजना सञ्चालनमा चासो देखाएनन् ।

कार्यवाहक मेयर बेघाले धरानको पानीको समस्या समाधान गर्न बुधबार मात्रै तीनवटै डिप ट्यूवेल जडान भएका स्थानमा स्थलगत अवलोकन गरी बन्द अवस्थामा रहेका ट्यूवेललाई सञ्चालन गरिने बताएका छन् ।

‘धरानमा पानीको समस्या हुन्छ कि भन्ने अवस्था बन्दै गएको थियो, हामीले अहिलेसम्म टालटुल गरेर प्रयास गर्दै आयौं, मैले अध्यक्षको पदभार ग्रहण गर्ने बितिक्कै ठेकेदारलाई बोलाएर छलफल गर्दा यसलाई अघि बढाउने दिशामा अघि बढाएका छौं’ उनले भने, ‘प्राविधिक रुपमा पनि तीनवटै डिप ट्यूवेललाई सञ्चालन गर्ने प्रतिवद्धता आइसकेको छ, तीनवटा पम्पबाट न्यूनतम ४० लाख दैनिक उत्पादन हुने निश्चित छ ।’

बेघाले उक्त पानीलाई खानेपानीको मुल पाइपलाइनमा जोडेर धराने जनतालाई उपलब्ध गराउने आश्वासन दिए । उनले विगतमा उपमहानगरभित्र देखिएको पानीको ‘इगो’ अब अन्त्य भएको बताए । 
‘कानुनी उल्झन पनि थियो, सबैलाई त्यागेर धराने जनताको पानीको आवश्यकतालाई व्यवस्थापन गर्नमा लागेका छौं’ उनले भने, ‘प्रदेश सरकारको महत्वपूर्ण सहयोगमा यो सम्भव भएको छ, प्रदेश सांसदहरूको पहल त्यतिकै महत्वपूर्ण छ, अब यो डिप ट्यूवेल प्रयोगमा आउँछ, किनभने खानेपानी बोर्डबाटै निर्णय समेत गरिसकेका छौं, गुणस्तर परीक्षण भइसकेको छ, यो पानी खान योग्य छ ।’

उनले खानेपानी व्यवस्थापन बोर्डको सवै हिसाबकिताब अब गोप्य नरहने र सबै प्रकारले व्यवहारमा पारदर्शी बनाउने बताए । 

सुख्खायाममा धरानमा खानेपानीको चरम अभाव हुने भएकोले यो आयोजना सञ्चालन भएपछि त्यतिबेलाका लागि ठुलो सहयोग हुने बताए ।

धरानको खानेपानी समस्या समाधानका लागि विगतदेखि नै पहल गर्दै आएका कोशी प्रदेश सभाका सांसद रमेशकुमार बस्नेतले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीमार्फत तीनवटा डिप बोरिङ जडान गरिएको जानकारी दिए ।

‘प्रदेश सरकारको सहयोगमा तीनवटा डिप बोरिङ गाडिएको थियो, यसलाई जोडेर सुख्खायाममा धरानका जनतालाई पानीको व्यवस्था गरिनेछ, तीन डिप बोरिङ मध्ये १७ नम्बर वडामा रहेको बोरिङ तुरुन्तै सञ्चालन गरिने अवस्थामा छ’ उनले भने, ‘अरु दुईवटामा बुस्टर पम्प जडान गरेलगत्तै सञ्चालन आउँछन् ।’

उनले धरानको खानेपानी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न २०७९ मंसिर २० मा धरान उपमहानगरपालिकाभित्रै छलफल भएको स्मरण गरे । 

आफूले पनि निर्वाचनताका धरानको खानेपानी समस्या समाधान गर्न सार्वजनिक रुपमा प्रतिवद्धता जनाएको बताए । सोही प्रतिवद्धतालाई कार्यन्वयन गर्न प्रदेश सरकारसँग पहल गरेर योजना ल्याइएको बताए ।

View : 192

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved