विराटनगर । उद्योगपति एवं वरिष्ठ समाजसेवी दीनबन्धु गोयलको सहयोगमा ९ जना कैदीबन्दी कारागारमुक्त भएका छन् । विभिन्न मुद्दामा अदालतले मागेको धरौटी वापतको रकम दाखिला गर्न नसकेर कारागारमा बसिरहेका ९ जना कैदीबन्दीको धरौटी रकम बुझाइदिएर गोयलले उनीहरूलाई कारागारमुक्त गराएका हुन् ।
समाजसेवी गोयलले झापाको भद्रपुर कारागारमा कैदीबन्दी जीवन बिताइरहेका ९ जनाको उद्धार गरेका हुन् । कैदमुक्त हुने तिलक खड्का, नरबहादुर लिम्बू, मन्जुर आलम, अम्बरबहादुर घतानी, सुरज तिम्सिना, मौसम किस्कू, दीपेश मुन्डा, नेमचाम आलम र विनय थापा छन् ।
अदालतले उनीहरूलाई विभिन्न अभियोगमा बिगो बमोजिमको धरौटी राख्न आदेश दिएको थियो । तर गरिबीका कारणले उनीहरूले धरौटीको रकम राख्न नसकी कारागारमै थिए ।
उनीहरुलाइ तोकिएको धरौटीको रकम ५ हजारदेखि २० हजार रुपैयाँसम्म रहेको बताइएको छ । बुधबार झापा कारागारमा भएको कार्यक्रममा समाजसेवी गोयलका तर्फबाट ९ बन्दीको कुल धरौटी रकम ९१ हजार रुपैयाँ बुझाइएको थियो । यसपछि उनीहरू तत्काल कारागारमुक्त झएका थिए ।
कार्यक्रममा अधिवत्ता सुरज खत्री, तारा बाराकोटी, उद्योगीद्वय विनय गोयल र दीपेश ढकाल, कारागार प्रमुख रेवन्त भट्टराई र कारागारका चौकीदार ताराकुमार लावतीको उपस्थिति थियो ।
नेपालमा कुनै पनि समाजसेवीले कैदीबन्दीको धरौटी बापतको रकम बुझाइदिएर कारागारबाट मुक्त गराएको सम्भवत यो पहिलो घटना भएको बताइएको छ ।
View : 151
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved