काठमाडौँ, १२ असोज । नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा फौज परिचालन गरिएको जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घनकुटाको पाख्रिबास नगरपालिका–५ मा पहिरोले घर पुरेपछि उद्धारमा नेपाली सेनाको फौज खटाइएको छ ।
सोही नगरपालिका–४ स्थित त्रिशूलामा स्थानीयको घर भासिएपछि त्यहाँ पनि सेनाको टोली उद्धारका लागि फौज पुगेको जनाइएको छ ।
त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु माध्यमिक विद्यालय डुबानमा पर्दा पाँच जना फसेको खबर प्राप्त हुनासाथ सेनाको फौज उद्धारमा खटाइएको नेपाली सेनाले जनाएको छ ।
ललितपुर उपमहानगरपालिका–२ स्थित नख्खु इलाका डुबान परेकाले उद्धारका लागि फौज खटाइएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–६ स्थित टीकाभैरवमा रहेको लेप्रेसी अस्पतालमा पहिरो जाँदा तीन जना पुरिएकाले उद्धारका लागि अहिले नेपाली सेनाको फौज जुटेको जनाइएको छ ।
त्यसैगरी काठमाडौँको त्रिपुरेश्वर, थापाथली क्षेत्रमा डुबान परेकाले त्यहाँ पनि उद्धारका लागि सेना खटाइएको छ ।
पाँचथरको फिदिम नगरपालिका–४ घर पुरिएपछि नेपाली सेना उद्धारमा जुटेको छ । रासस
View : 94
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved