Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

नैतिक जिम्मेवारी लिंदै गृहमन्त्री लेखकले दिए राजीनामा

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

विराटनगर । १९ जनाको ज्यान जाने गरी जेनजी आन्दोलनमा प्रहरी दमन भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । 

पार्टीभित्र र बाहिरबाट तीव्र दबाब परेपछि लेखक राजीनामा दिन बाध्य भएका हुन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका थिए । 

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । 

त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।

यसअघि एमालेसँगको सत्ता सहकार्यबारे पुनःविचार गर्नुपर्ने मतले बैठकमै प्रवेश पाएको थियो । 

जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले निर्मम दमन गरेको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ । कांग्रेस नेता शेखर कोइरालाले एमालेसँगको सहकार्यको औचित्य सकिएको बताइसकेका छन् । 

एकै दिन १९ जना तन्नेरीले प्रहरी गोलीबाट ज्यान गुमाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार साँझ कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको आकस्मिक बैठक बसेको थियो ।

सोही बैठकमा एमालेसँगको सत्ता सहयात्राबारे कांग्रेसले पुनःविचार गर्नुपर्ने विचार प्रकट भएको हो । 

बैठकमा सहभागी एक जना पूर्वपदाधिकारीले दिएको जानकारीअनुसार बैठकमा विषय प्रवेश गराउँदै सुरुमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेका थिए ।

‘उहाँले मुख्यतः तीन वटा कुरा गर्नुभयो’ ती नेताले शर्मालाई उधृत गर्दै भने ‘पहिलो, एमालेसँगको सात बुँदे समझदारी अन्त्य गर्दै सत्ता सहकार्य अन्त्य गरौं । दोस्रो, सहमतिलाई निरन्तरता दिने हो भने कम्तीमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प एमालेभित्रैबाट खोज्न भनौं ।’

प्रधानमन्त्री ओलीको हठ, कार्यशैली लगायतका विषयले धेरै कुरा नराम्रो भइरहेको शर्माको भनाइ थियो । ‘र, हाम्रो दलका तर्फबाट गृहमन्त्री रहनुभएका रमेश लेखकले तत्कालै राजीनामा दिन लगाऔं ।’ 

महामन्त्री शर्माले यति भनिसकेपछि अर्का महामन्त्री गगन थापाले उनको प्रस्तावमा सहमति जनाएका थिए । 

‘हामीले अघिल्ला दुई विषयमा निर्णय लिनलाई केही छलफल गर्नुपर्ला । गृहमन्त्रीको राजीनामा तत्कालै हुनु राम्रो हो । हुनुपर्छ ।’ 

बैठकमा सहभागी नेताहरूका अनुसार त्यसपछि गृहमन्त्री रमेश लेखकले जनधनको क्षति अकल्पनीय भएको नैतिक जिम्मेवारी आफूले लिने र क्याबिनेटमा पुगेर राजीनामा दिने बताएका थिए । एमालेसँगको सहकार्यबारे अहिले नै हतारिन नहुने मत सभापति देउवाको थियो । 

‘अहिले नै सहयात्रा टुंग्याउने कुरा गर्दा विकल्प के त ?’ उनले भनेका थिए ‘त्यसैले यसबारे अहिले हतारिन हुन्न ।’

View : 387

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved