विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना बैंकमार्फत प्रदेशका योजनाहरू बजेटमा समावेश गरेर बजेटमा देखिएको विकृति हटाउने बताएका छन् । योजना एकातिर बजेट अर्कोतिर हुने परिपाटी भएकाले यसको अन्त्य गरिने बताएका हुन् ।
‘हामीले योजना एकातिर र बजेट अर्कोतिर हुने परिपाटी अन्त्य गर्न योजना बैंक कसरी बनाउने र कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफल गरिरहेका छौं, अगामी दिनमा त्यस्तो हुन दिंदैनौं’ मुख्यमन्त्री कार्कीले भने । उनले शुक्रबार प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान–प्रदान कार्यक्रममा बोल्दै योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
प्रदेशका योजनाहरु कार्यान्वयनमा प्रदेश सभा सदस्य, राजनैतिक नेतृत्व, विकासका साझेदारहरु र नागरिक समाजसँग आवश्यक छलफल गरिने बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेश स्थापना भएको अवधिमा प्रदेशमा विकासको पर्याप्त उपलब्धि हासिल गर्न सफल भएपनि यसको प्रचार गर्न नसक्दा प्रदेशप्रति वितृष्णा फैलाइएको बताए ।
प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पूँजीको विकास आवश्यक रहेको बताए । उनले त्यसका लागि स्थानीय स्रोत, साधन र खनिज पदार्थको अधिकतम् उपयोग र निर्यात गर्न आवश्यक रहेको बताए ।
मुख्यमन्त्री कार्कीले मुलुकको व्यापार घाटा कम गर्न कृषि, पशुपालनमा उत्पादन बृद्धि र जलविद्युतको निर्यात जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले प्रदेशका योजना व्यवस्थित गर्न काम गरिरहेको बताए । आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेसहित ओमधरानन्द राजोपाध्याय र डा अजयचन्द्र लालले मुलुकको आर्थिक समृद्धि र नागरिकको रोजगार एवं आयआर्जनलाई ध्यानमा राखी विकासको कामलाई गतिदिनु पर्ने सुझाव दिएका थिए ।
राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै योजना पहिचान गरी विकासको कार्यलाई निरन्तरता दिनुपर्ने सुझाव दिंदै प्रदेशमा व्यवासयिक क्षमता बृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।
View : 112
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved