Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

खुम्बु पासाङल्हामु गाउँपालिकाले भन्यो– ‘राहत र उद्धारमा सबै जनप्रतिनिधि खटिन्छौँ’

उद्घोष सम्वाददाता
३२ साउन २०८१, शुक्रवार

विराटनगर । शुक्रबार करिव साढे १ बजेतिर अचानक आएको भीषण बाढीका कारण थामे गाउँका सबै मानिस बिस्थापित भएपछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै जनप्रतिनिधि राहत र उद्धारमा खटिने घोषणा गरेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे वस्तीमा लेदो सहितको बाढीले सो क्षेत्रमा ठुलो क्षति पुर्‍याएको भन्दै राहत र उद्धारमा खटिने घोषणा गरेको जनाइएको छ । उक्त बाढीबाट भएको क्षतिका कारण सिंगो गाउँपालिका स्तब्ध भएको शुक्रबार बेलुका गाउँपालिकाकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

थामे वस्तीमा अचानक आएको बाढीबाट हालसम्म विद्यालयको होस्टल, एउटा क्लिनिक, पाँच वटा होटल र सात वटा घरसहित १४ वटा भवन संरचना पूर्ण रुपमा बगेको गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले बताए । उनले अन्य घरमा समेत बाढी पसेर धनमालको व्यापक क्षति भएको बताए ।

खराब मौसमका कारण अत्यन्तै दुःखद अवस्थामा पनि गाउँपालिकाका जनप्रतिनिधिहरू आजै उक्त वस्तीमा पुग्न नसकेको विज्ञप्तिमा उल्लेख छ । 

‘भोलि बिहानैदेखि हुने उद्धार तथा राहत कार्यमा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी खटिने व्यहोरा समेत जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।

गाउँपालिकाले बाढी प्रभावित बस्तीमा गर्नुपर्ने थप उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार र गैरसरकारी संघसंस्थाबाट थप सहयोग र सहकार्यको अपेक्षा राखेको बताएको छ ।

विपद्को घडीमा संयमता साथ उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा जुट्न सम्पूर्ण पक्षमा आग्रह गरेको छ । साथै स्थानीय प्रशासन र स्थानीयवासीको सहयोगमा उद्वार कार्य भइरहेको भन्दै विपद्को घडीमा बाढी प्रभावितको उद्दार कार्यमा जुट्ने सुरक्षाकर्मीहरूलाई गाउँपालिका धन्यवाद समेत दिएको छ ।

View : 155

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved