विराटनगर । आगामी आर्थिक वर्षको बजेटमा लैंगिक हिंसा रोकथामका कार्यक्रमलाई समेटेर बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् ।
महानगरपालिकामा बुधबार आयोजित छलफलमा गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरूले लैंगिक हिंसा रोकथामलाई बल पुग्ने गरी बजेट बनाउन सुझाव दिए ।
एबीसी नेपाल कोशी प्रदेशकी अध्यक्ष विष्णु शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैंगिक हिंसा पीडित, बालबालिकाको हितमा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट ल्याउन सुझाव दिइन् ।
कोकनकी प्रमुख मञ्जिता उपाध्यायले विराटनगर कोशी प्रदेशको राजधानी हुनुका साथै प्रदेशको एक मात्रै महानगरपालिका भएकाले पनि यहाँ हुने गतिविधिले अन्य पालिकाले समेत प्रेरणाका रुपमा लिने बताइन् । अन्य स्थानीय तहले अनुशरण गर्ने गरी सामाजिक क्षेत्रलाई समेटेर बजेट ल्याउनुपर्नेमा उनले जोड दिइन् ।
सिविनका वासु अधिकारीले खुल्ला सीमानाका कारण हुने लागूऔषध सेवन र ओसारपसारलाई न्यूनीकरण गर्न विशेष अभियान जरुरी रहेकाले त्यसतर्फ पनि बजेट केन्द्रित हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा सहभागी गैसस प्रतिनिधिहरूले स्थानीय रुपमा सञ्चालित गैरसरकारी संस्थाको क्षमता विकास, ज्येष्ठ नागरिक, युवा, बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिको हितमा बजेट आउनुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा कार्यबाहक मेयर मधुबाबु तिवारीले छलफलमा आएका सुझावलाई आगामी वर्षको बजेटमा समेट्ने प्रतिबद्धता जनाए ।
View : 160
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved