Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उदयपुरमा जंगली हात्तीको आतंक, २५ वटा घर भत्कायो

उद्‌घोष संवाददाता
१० पुष २०८२, बिहिवार

विराटनगर । जंगली हात्तीले उदयपुरमा २५ वटा घर भत्काएको छ । पुसको पहिलो सातामात्रै बेलका नगरपालिकामा सात र चौदण्डीगढी नगरपालिकामा छवटा घर भत्काएको जंगली हात्तीले तीन दिनयता थप १२ वटा घर भत्काएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबारदेखि त्रियुगा नगरपालिकाको विभिन्न वडामा जंगली हात्तीले आतंक मच्चाएको छ । 

त्रियुगा नगरपालिका–५ बेलचौरी, वडा नं. ६ को मोहनपुर र वडा नं. ७ को चकलघाटमा जंगली हात्तीले रातभरि स्थानीयको घर भत्काइदिने गरेको छ । हात्तीले घर भत्काउनुका साथै घरभित्र रहेको अन्नपात खाइदिने गरेको हो ।

आइतबार राति त्रियुगा नगरपालिका–५ बेलचौरीकी रेवती सदा, बृहस्पती सदा, विजय सदा, गणेशबहादुर बुढाथोकी, रुद्र पोखरेल, विष्णु भुजेल, मनकुमारी राई र त्रियुगा–६ मोहनपुरकी बिन्दा परियारको घर भत्काउनुका साथै अन्नपात नष्ट गरिदिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

त्यसैगरी मंगलबार राति त्रियुगा–७ चकलघाटकी नर्बदा कार्की, मानबहादुर बिक, गंगामाया कार्की र राजन कार्कीको घर भत्काएर अन्नबाली खाइदिएको जनाइएको छ । हात्ती प्रवेश गरेर दुःख दिन थालेपछि प्रहरीसमेत परिचालन गरेर जंगलतर्फ नै लखेटिएको प्रहरीको भनाई छ । 

हात्तीले यसअघि बेलका र चौदण्डीगढीमा ११ लाख ३ हजार रुपैयाँ बराबरको क्षति गरेको थियो । पछिल्लो पटक त्रियुगाका विभिन्न वडाका घर भत्काउनुका साथै अन्नबाली खाएर थप १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।

रातको समयमा जंगली हात्ती गाउँ प्रवेश गर्ने गरेका कारण मानिसलाई ज्यान जोगाउनै मुस्किल परेको स्थानीय जनप्रतिनिधिले बताए । हात्तीको आंतकले मानिसहरू मुढा बालेर रातभर जाग्रामसमेत बस्न थालेको जनाइएको छ ।

मोरङको सुन्दरहरैंचा–१० मा भने एक साताअघि मात्रै जंगली हात्तीको आक्रमणमा परी ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै ज्यान गइसकेको छ ।

View : 151

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved