Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

अन्तरकलेज टी–२० क्रिकेट शुरु

उद्‌घोष सम्वाददाता
२३ पुष २०८१, मङ्गलवार

सुनसरी । विराटनगरको कोशी क्याम्पसले इटहरीमा जारी प्रदेशस्तरीय दोस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा जित सुरुवात गरेको छ । 

इटहरी आदर्श जायन्ट्सको आयोजनामा सोमबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा दमकको आस्था कलेजमाथि २६ रनको जित निकाल्दै कोशीले विजयी सुरुवात गरेको हो ।

इटहरी–९ स्थित जनता क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले खराब मौसमका कारण १६ ओभरमा छोट्याइएको खेलमा ८ बिकेट गुमाउँदै १ सय ३५ रनको योगफल जोडेको थियो । 

कोशीका लागि सुभम बरालले सर्वाधिक ३५ रन बनाउँदा गोपाल मण्डलले २७ र जेम्स बिकले १७ रन बनाए । आस्थाका सौजन घिमिरेले ३ तथा संगम बुढाथोकीले दुई बिकेट लिए । 

आस्थाले सुरुवाती दोस्रो ओभरसम्म खराब बलिङ गरेपछि कोशीले दुई ओभरमै ४४ रन जोडेको थियो ।

१ सय ३६ रनको बिजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको आस्थाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन मात्र जोड्न सक्यो । आस्थाका लागि संगम बुढाथोकीले ३० रन बनाउँदा हिमांशु गिरीले १८ र सौजन घिमिरेले १५ रन जोडे । 

खेलको उत्कृष्ट खेलाडी कोशीका गोपाल मण्डल घोषित भए । उनले ३ विकेटसमेत लिएका थिए ।

सोमबार नै भएको दोस्रो खेलमा इटहरी नमुना कलेजले कोशी सेन्टजेम्स कलेजमाथि ८१ रनको फराकिलो जित निकालेको छ ।

नमुनाले दिएको १ सय ५३ रनको बिजयी लक्ष्य पछ्याएको कोशी सेन्टजेम्स ७२ रनमा अलआउट भयो । नमुनाका प्रभात राईले ३९ बलमा ५६ रन जोडे । कोशी सेन्टजेम्सका एमडी आरिफले ५ विकेट लिए । नमुनालाई जिताउन ५ विकेट लिएका प्रकाश कार्की म्यान अफ द म्याच घोषित भए ।

पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १० कलेजका टोलीहरुको सहभागिता  छ । 

प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेशन एण्ड भिषा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।

View : 52

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved