उपनिर्वाचन-२०८१
काठमाडौँ, १ कातिक । निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ ।
स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए ।
सो उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐनबमोजिम निर्देशन दिइएको उनले स्पष्ट पारे ।
२०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचितमध्ये ३४ पद रिक्त छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा उपनिर्वाचन हुने भएको हो ।
त्यस्तै झापाको कन्काई नगरपालिका– ६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा गाँउपालिका–१२, वेलका नगरपालिका– ८, सप्तरीको डाक्नेश्वरी नगरपालिका–४, रौतहटको राजपुर–६ र गढिमाई नगरपालिका–८, काठमाडौंको कीर्तिपुर नगरपालिका–१ र ४, काठमाडौं महानगरपालिका– १६, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका– १, रोल्पाको रुन्टिगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि दल दर्ताको काम सकिएको छ । आगामी मंसिर १६ मा उपनिर्वाचन हुँदैछ ।
मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने आयोगले जनाएको छ । साथै सोही दिन बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने पनि आयोगले जनाएको छ ।
View : 99
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved