Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

‘दान्भी’ पोस्टरमा मेसिनगन लिएर लडिरहेकी पूजा

उद्घोष सम्वाददाता
२० मंसिर २०८०, बुधवार

काठमाडौं : पछिल्लो समय साउथ र बलिउडका एक्सन फिल्ममा मेसिनगनको प्रयोग अनिवार्य जस्तै भएको छ । ‘केजीएफ’, ‘पठान’, ‘एनिमल’, ‘टाइगर ३’ जस्ता फिल्ममा प्रयोग भएको मेसिनगनलाई लिएर राम्रै चर्चा भएको थियो । विशेषगरी ठूला एक्सन सिनमा मेसिनगनको प्रयोग गरिन्छ । अब नेपाली एक्सन प्रधान फिल्म ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् ।

मंगलबार उनको चरित्र चित्रण गर्ने एउटा पोस्टर सार्वजनिक गरिएको छ । जसमा उनी मेसिनगन लिएर लडिरहेकी छन् । पूजाको निधारमा चोट पनि छ । सम्भवतः पहिलो पटक नेपाली फिल्ममा मेसिनगनको प्रयोग भएको हो । यही फिल्मका लागि पूजाले महिनौ एक्सनको ट्रेनिङ समेत लिएकी थिइन् ।

रोमान्टिक भूमिकामा रुचाइएकी उनी पहिलो पटक एक्सन अवतारमा देखिन लागेकी हुन् ।

‘जय शम्भु’ बाट एक्सन फिल्ममा सम्भावना देखाएका रुपेश तामाङद्वारा निर्देशित फिल्ममा देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता, कमला लिम्बू, पञ्चबहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह–निर्मातामा छन् भने हरि लामा ‘घले’को छायाङ्कन, संजोग रानाको संवाद, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी र केदारराज नेपालीको संगीत रहेको छ । त्यसैगरी, फिल्ममा कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सत्यम रानाको भीएफक्स तथा नवराज शर्मा मुख्य सहायक निर्देशन छ ।

निर्देशक तामाङले फिल्मको एक्सनलाई आफूहरूले नयाँ तहमा तयार पारेको बताएका छन् । फिल्मको टिजर केही हप्तामै सार्वजनिक गरिदैछ । टिजरसँगै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।
 

View : 60

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved