ओखलढुंगाको मानेभञ्ज्याङ मतदान केन्द्र :
विराटनगर । अस्पताल निर्माणको विषयमा स्थानीयको अडानले ओखलढुंगाको मानेभञ्याँङ गाउँपालिका–७ टोक्सेलस्थित शहिद आधारभूत विद्यालयमा बिहीबार अपरान्हसम्म पनि मतदान हुन सकेको छैन ।
मतदान केन्द्रमा अपरान्ह २ बज्दासम्म पनि मतदान हुन नसकेको जनाइएको छ ।
मतदाताहरू नै मतदानस्थलमा पुगेका छैनन् । उनीहरूले मतदान बहिष्कार गरेका घोषणा गरेका हुन् ।
मानेभञ्याँङमा प्रदेशस्तरीय अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकारले बजेट नदिएको भन्दै उनीहरूले मतदान बहिस्कार गरेको दाबी गरेका छन् । सोही मागलाई प्रमुखताका साथ उठाएर मतदाताहरूले मतदान बहिस्कार गरेको मानेभञ्याँङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए ।
मतदान अधिकृत परवासी राईका अनुसार ७०१ मतदाता रहेको उक्त मतदान केन्द्रमा विहान ७ बजेदेखि नै ६ जना कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा थिए । तर अहिलेसम्म कोही पनि मतदान गर्न नआएको उनले जानकारी दिइन् ।
मतदान केन्द्रको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीका अनुसार केही मतदाताहरू भने मतदानस्थल नजिकै रहेको बरगाछी मूनि बसेर रमिता हेरिरहेको तर केन्द्रमा प्रवेश नगरेको बताए ।
गाउँपालिका अध्यक्ष रुम्दालीले २०७४ सालमै कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट त्यहाँ प्रादेशिक अस्पताल बनाउने भनेर स्थानीयवासीको १६५ रोपनी जग्गा सरकारलाई हस्तान्तरण गरिएको थियो ।
अस्पताल बनाउन ९९ करोड रुपैयाँको डिपीआर पनि तयार भएको थियो । तर प्रदेश सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीयहरू आक्रोसित बनेका हुन् ।
अध्यक्ष रुम्दालीले भने– ‘वहाँहरू सन्तुष्ट हुनु भएन, कसैलाई पनि मत नहाल्ने भनेर सल्लाह गरेछन्, दुई चरणमा छलफल पनि भयो तर उनीहरूले माग पुरा नभएको भन्दै मान्दै मानेनन् ।’
View : 110
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved