Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

बालबालिकादेखि प्राध्यापकसम्म एउटै कक्षामा

विराटनगरमा नेँपालभाषा सिक्ने उत्साह

उद्‌घोष संवाददाता
८ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर। नेवाः समुदायको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा मातृभाषाप्रतिको अपनत्व बढाउने उद्देश्यले विराटनगरमा सञ्चालन भइरहेको १५ दिने नेँपालभाषा (नेपाल भाषा) प्रशिक्षण अन्तिम चरणमा पुगेको छ। \

झी पुँचः (नेपाल भाषा तथा साँस्कृतिक संघ), विराटनगर–१० को आयोजनामा सञ्चालन भएको प्रशिक्षण आइतबार समापन हुने भएको छ।

नेपाल संवत् ११४६ तछलागा त्रयोदशी (असार २८ गते) उद्घाटन गरिएको प्रशिक्षणमा करिब तीन दर्जन प्रशिक्षार्थी सहभागी छन्।

प्रशिक्षणमा संस्कृतिविद् तथा नेपाली, नेवारी र अंग्रेजी भाषाविद् गणेश बज्राचार्यले नेपाल भाषाको बोलचाल, लेखन, व्याकरण, साहित्य, इतिहास तथा नेवाः संस्कृतिका विविध पक्षबारे प्रशिक्षण दिइरहेका छन्।

प्रशिक्षणको विशेषता भनेको बालबालिकादेखि वरिष्ठ नागरिकसम्मको सहभागिता हो।

सहभागीमध्ये ११ वर्षीय शुभम् श्रेष्ठ, ११ वर्षीया आराध्या श्रेष्ठ, १३ वर्षीय रूविन श्रेष्ठ, १७ वर्षीया प्रभा श्रेष्ठ, उर्वशी श्रेष्ठ, सिभिल इञ्जिनियर सचिन श्रेष्ठ, ६६ वर्षीया शिला श्रेष्ठ, प्रा.डा. सम्झना श्रेष्ठ, कलेज सञ्चालक एवं तरुण दलका नेता सुनिल श्रेष्ठ, झी पुँचका निवर्तमान अध्यक्ष तथा पर्यटन व्यवसायी भविश श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ तथा कलाकार पुनमप्रमाश श्रेष्ठ लगायतको सक्रिय सहभागिता रहेको छ।

सहभागी शिला श्रेष्ठ नेपाली कांग्रेसकी नेतृ तथा नेपाल महिला संघ विराटनगरकी सभापति हुन्।

प्रशिक्षण संयोजक हरिमोहन श्रेष्ठका अनुसार भाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, सभ्यता र पहिचानको आधार भएकाले नयाँ पुस्तामा नेपाल भाषाको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो।

उनले यस्ता कार्यक्रमले मातृभाषाप्रतिको आत्मीयता बढाउनुका साथै सांस्कृतिक निरन्तरतामा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

झी पुँचका अध्यक्ष शरद श्रेष्ठले मातृभाषा जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रशिक्षणलाई निरन्तरता दिइने बताए। उनका अनुसार समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रशिक्षक र सक्रिय प्रशिक्षार्थीलाई सम्मान गरिने कार्यक्रम छ।

View : 289

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved