Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

भ्रम फैल्याएको भन्दै गोल्डेन अस्पतालको आपत्ति

उद्‌घोष संवाददाता
१४ साउन २०८२, बुधवार

विराटनगर । उपचारका सिलसिलामा अस्पतालमा आएकी बिरामी आरुशी पासवानका विषयमा भ्रम फैल्याएको भन्दै गोल्डेन अस्पतालले आपत्ति जनाएको छ ।

विराटनगर–११ स्थित जनपथटोलमा अवस्थित उक्त अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालको प्रतिष्ठामाथि आघात पुर्याउने गरी नियोजित रुपमा भ्रम फैल्याउने खालका समाचार आएको आरोप लगाएको छ । 

अस्पतालले समाचारमा उल्लेख गरिएअनुसार बिरामीको मृत्यु गोल्डेन अस्पतालमै भएको भनिएकोमो उक्त भनाइ पूर्ण रुपमा झूठो र बदनियतपूर्ण भएको जिकिर गरेको छ ।

अस्पतालका निर्देशक सनातन मण्डलले बिरामीको स्वास्थ्य अवस्था बारे बालरोग विशेषज्ञ डा.सन्तोष यादवले सबै कुरा स्पष्ट पार्दापार्दै पनि बिरामीसँग असम्बन्धित व्यक्तिहरूको समूहले हुलहुज्जत गरी अस्पताल तोडफोडको प्रयास गर्नुलाई आफूहरूले गम्भीर रुपमा लिएको बताएका छन् । 

अस्पताल प्रशासनका अनुसार, आइतबार पानीमा डुबेर गम्भीर अवस्थाकी बिरामी पासवान अस्पतालको आकस्मिक कक्ष ल्याई पुर्‍याएकी थिइन् । 

बिरामीलाई सीपीआर गरी सघन उपचार कक्षमा उपचार गर्नुपर्ने चिकित्सकीय मापदण्डअनुसार उपचारकै क्रममा बिरामीको आफन्त भन्दै केही व्यक्तिले हुलहुज्जत र तोडफोड सुरु गरेको मण्डलले बताए । 

उनीहरूले आइसीयूकक्षमै पुगी अन्य बिरामी तथा कुरुवालाई आतङ्कित पारेको मण्डले बताए ।  

‘वास्तविकता के हो भने बिरामी आरुशी पासवान आइतबारका दिन हाम्रो अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी थिइन् । आगमनको समयमा विरामीको रक्तचाप, नाडी जस्ता जीवन संकेतहरू नाप्न नसकिने अवस्थामा थिए । तर पनि हाम्रो चिकित्सक टोलीले करिब ३० मिनेटसम्म निरन्तर सीपीआर (हृदय पुनः सञ्चालन प्रक्रिया) गरी बिरामीलाई पुनर्जीवन दिन सफल भयो । र, तत्काल सघन उपचार कक्षमै राखेर उपचार सुरु गरियो’ अस्पतालका निर्देशक मण्डलले भने, ‘तर दिउँसो १ः२५ बजे बालरोग विशेषज्ञ डा.सन्तोष यादवले बिरामीको अवस्था जानकारी गराएपश्चात हामी विरामी लान्छौ भनेको र निजहरूले आफ्नो मञ्जुरीमा नै बिरामी लाने निर्णय गरेका थिए ।’

तर बिरामी लाने तयारी हुँदाहुँदै एकाएक ५०–६० व्यक्तिहरूको भीड आई अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूउपर अभद्र व्यवहार गरेको, सघन उपचारकक्षमै हुलहुज्जत गरी ढोका फोड्ने प्रयास गरी स्वास्थकर्मीहरूउपर हातपात गर्ने प्रयास गरेको उनले बताए । 

मण्डलले यस घटनाबाट अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुरक्षा चुनौती थपिएको बताए । 

केही समयअघि अस्पतालबाट दिइने सेवासुविधामा भारी छुट दिने निर्णय भएलगत्तै बिरामीको नाममा गरिएको हुलहुज्जत र तोडफोड नियोजित रुपमा भएको भन्दै उनले हुलहुज्जतमा संलग्नमाथि अस्पतालले कानूनी कारवाहीको माग गरेको मण्डलले बताएका छन् ।

View : 253

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved