विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशको खेलकुद क्षेत्रको विकास हुन नसकेको बताएका छन् । उनले आगामी तीन वर्ष भित्रमा कोशी प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्य बनाउने बताएका हुन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आइतबार विराटनगरमा आयोजित खेलाडी, खेल क्षेत्रमा योगदान पुर्याउने व्यक्ति र पत्रकारहरूको सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले सरकारले चाँडै नै कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्ने र अबको तीन वर्षभित्र प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रुपमा चिनाउने बताए ।
प्रदेशको संरचना बनेपछि सबै प्रदेशमा खेलकुद विकास बोर्ड र परिषदहरू बनेको तर प्रदेशमा देखिएको राजनीतिक अस्थिरताका कारण ६/६ महिनामा हुने सरकार परिवर्तनले खेल क्षेत्र प्राथमिकीकरण हुन नसकेको उनले बताए ।
‘कोशी प्रदेशमा खेल क्षेत्रको विकासका लागि खेलकुद विकास बोर्ड गठन गरिएको छ, तर त्यो पनि यहाँको राजनीतिक अस्थिरताको शिकार बन्यो,’ मुख्यमन्त्री कार्कीले भने, ‘यद्यपि न्यायालयको फैसलापछि अब भने खेलकुद क्षेत्रलाई पुनः संगठित गर्दैछौं, चाँडै खेलकुदको विकासका लागि बनाएका ऐन कानुनमा रहेका कमजोरीहरूलाई सच्याउँदै कोशी प्रदेशस्तरीय खेलकुद परिषद् निर्माण गर्नेछौँ ।’
उनले क्रिकेटको माध्यमबाट अन्तराष्ट्रिय जगतमा पहिचान बनाउन सफल भएपनि राज्यको लगानी र ध्यान नपुग्दा फुटबल, भलिबल लगायत अन्य खेलकुदका विधाहरूमा उपलब्धि हासिल हुन नसकेको बताए ।
मुख्यमन्त्री कार्कीले सरकारको निकाय खेलकुद परिषद्ले खेल क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको भएपनि सोचेजस्तो उपलब्धी हासिल नभएको बताए ।
कार्कीले खेलकुदका लागि बनाएको नीति र कानुन लगायत व्यवस्थापकीय प्रबन्धमा पनि राज्य चुकेको टिप्पणी गरे । खेल क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच समन्वय हुन जरुरी रहेको बताए ।
‘राज्यको पुनःसंरचनासँगै अहिले स्थानीय, प्रदेश र संघबाट खेलकुदको विकासका लागि केही पहल र प्रयत्नहरू भएका छन्’ उनले भने, ‘यद्यपि खेलकुदको विकासका लागि तीन तहबीच समन्वयात्मक पहल भने हुन सकेको छैन, यस कारणले पनि खेल क्षेत्र पछाडि परेको महसुस भएको छ ।’
खेलकुदका लागि कोशी प्रदेशमा अन्तराष्ट्रिय मापदण्डको प्रदेशस्तरीय रंगशाला बनाउने, विराटनगरस्थित बैजनाथपुरमा रहेको क्रिकेट रङ्गशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने, इनडोर र आउटडोर खेलका संरचनाहरू विराटनगरमा निर्माण गरिने तयारी भइरहेको मुख्यमन्त्री कार्कीले बताए ।
साथै झापास्थित आदिवासी जनजाति रंगशाला निर्माण गरेर अन्तराष्ट्रिय खेलकुदको थलोको रुपमा विकास गर्न नेपाल सरकारसँग आवश्यक पहल भइरहेको जानकारी दिए ।
कार्यक्रमका अवसरमा भर्खरै सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी तथा खेल क्षेत्रमा योगदान पुर्याउने दुई सय जनालाई सम्मान गरिएको थियो ।
सोही अवसरमा खेल क्षेत्रमा कलम चलाउने पत्रकार नविन अर्याल, भुमिका पाख्रीन, भुमिराज पराजुली, चुमन बस्नेत, किशोर बुढाथोकी, पुष्पराज थपलिया लगायतका संचारकर्मीहरुलाई नगद ११ हजार रुपैयाँसहित सम्मानित गरिएको जनाइएको छ ।
View : 181
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved