विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा साताव्यापी रूपमा सञ्चालित ‘खेलकुद उत्सव–२०८२’ बुधबार भव्य रूपमा सम्पन्न भएको छ । गत शुक्रबारदेखि सुरु भएको सो खेलकुद उत्सवमा विद्यालयका नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए ।
विजेता खेलाडी तथा गृह (हाउस) हरूलाई विद्यालयका प्राचार्य टीकाराम पुरीले पदक प्रदान गरे ।
विजयी विद्यार्थीहरूलाई विद्यालयको आगामी वार्षिकोत्सवका अवसरमा प्रमाणपत्र र पुरस्कार प्रदान गरिने अतिरिक्त क्रियाकलाप इञ्चार्ज सुधा ढंगेलले जानकारी दिइन् ।
कक्षा ८ र ९ को भलिबलतर्फ छात्रमा मेची हाउस विजेता र कर्णाली हाउस उपविजेता बने । छात्रातर्फ गण्डकी हाउसले उपाधि जित्दा कोशी हाउस दोस्रो भयो ।
छात्रतर्फ धावा तामाङ र छात्रातर्फ कृपा पोखरेलको नेतृत्वमा रहेका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
१०० गुणा ४ रिले दौडमा कक्षा ८ र ९ को छात्रातर्फ कर्णाली हाउस प्रथम भयो भने छात्रतर्फ गण्डकी हाउसले स्वर्ण जित्यो । २०० मिटर दौडमा सामर्थ पाठक (छात्र) र मान्यता बस्नेत (छात्रा) प्रथम भए । १०० मिटर दौडमा सामर्थ पाठक र आश्री सिग्देलले बाजी मारे ।
फिल्ड स्पर्धाका विजेताहरू ज्याभलिन थ्रोमा छात्रातर्फ अदिती कुशवाह र छात्रतर्फ आदित्य साह प्रथम भए । लङजम्पमा दक्षता चौधरी र मो. अरमानले सफलता हात पारे भने ट्रिपल जम्पमा जेनिशा थापा र राहुल यादवले पहिलो स्थान हासिल गरे । सटपुटमा आन्या कोइराला र अभय थापामगरले उत्कृष्ट प्रदर्शन गर्दै पदक जिते ।
कनिष्ठ समूहको उत्साह कक्षा ६ र ७ को समूहमा भएको गणित दौडमा आशुतोश कोइराला र वेदिका सन्थलिया प्रथम भए । लङजम्पमा सक्षम मण्डल र निबिशा भट्टराईले पहिलो स्थान प्राप्त गरे । यस्तै १०० मिटर दौडमा सशीत खत्री र कुसुम अधिकारी विजेता बने ।
विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि एभरेष्ट विद्यालयले हरेक वर्ष यसरी नै विभिन्न तहमा विभाजन गरी खेलकुद उत्सव आयोजना गर्दै आएको छ ।
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved