विराटनगर । वरिष्ठ सर्जन डा. रविनराज सिंह कोशी अस्पतालको पुनः मेडिकल सुपरिण्टेण्डेण्ट(प्रमुख)मा नियुक्त भएका छन् । उनी अस्पताल प्रमुखमा ११ महिनापछि पुनः बहाली भएका हुन् ।
कोशी प्रदेशकै ठुलो संघीय सरकारको अस्पताल विराटनगरस्थित कोशी अस्पतालमा सिंह पुनः प्रमुखमा नियुक्त भएपछि कर्मचारी तथा सरोकारवालाले अस्पताल सुधारको आशा गरेका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयले उनलाई ११ महिनापछि पुनः सोही पदमा नियुक्त गरेको हो । २०७९ फागुनमा अस्पताल प्रमुखमा नियुक्त भएका सिंहलाई ५ महिनामै जिम्मेवारीबाट हटाइएको थियो ।
दशौं तहका सिंहलाई हटाएर नेपाल सरकारले ११ औं तहका डा. चन्द्रभाल झालाई सो जिम्मेवारी दिए पनि त्यसको ११ महिनामै जिम्मेवारीमुक्त गरिएको छ । कोशी अस्पतालमा निर्माणाधीन अर्बौ रकमका केही संरचनाको निगरानी र हजारौं बिरामीको सेवामा गुनासो आएपछि झालाई सरकारले जिम्मेवारीबाट मुक्त गरेको बताइएको छ ।
मन्त्रीस्तरको निर्णयबाट डा. सिंहलाई प्रमुखको जिम्मेवारी तोकिएको जानकारी पत्र कोशी अस्पतालमा बुधबार नै आएको छ । मन्त्रालयका शाखा अधिकृत रामप्रसाद ओलीद्वारा प्रेषित पत्रमा कोशी अस्पतालको प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त प्रमुखको रुपमा मेडिकल सुपरिण्टेण्डेण्टको जिम्मेवारी दिइएको जनाइएको छ ।
आफू गत वर्ष प्रमुखका रुपमा छोटो अवधि बसेको र बनाएका योजना पूरा गर्न नपाएको जनाउँदै सिंहले आगामी वर्ष बिरामीलाई सुबिधा हुने खालका धेरै कार्यक्रम सञ्चालन गरिने बताए । बिपन्न, ज्येष्ठ नागरिक, महिला, बालबालिकालाई लक्षित गरेर स्वास्थ्य बिमाबाट बढी नागरिकले छिटो सेवा पाउने गरी सुविधा विस्तार गर्ने सिंहले बताए ।
जनकपुरधामका स्थायी बासिन्दा डा. सिंह कोशी अस्पतालमा लामो समयदेखि सेवारत छन् । उनले हजारौं बिरामीको शल्यक्रिया गरेर सेवा दिइसकेका छन् । ‘मानिस बाँच्नुपर्छ भन्ने भावना राखेर सेवा गर्दै आएको छु’ उनले भने, ‘सरकारले तोकेको मापदण्डभित्र पर्ने हरेक समुदाय र बिपन्न वर्गले सुविधामा उपचार पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’
View : 4769
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved