शिक्षा र स्वास्थ्यमा विराटनगरको फड्को
विराटनगर । नेपालको लोकतान्त्रिक आन्दोलन र औद्योगिक विकासको नेतृत्व गरेको विराटनगर शहरसँग स्वास्थ्योपचारका क्षेत्रमा पनि उस्तै नेतृत्वदायी भूमिका निर्वाह गरेको गर्विलो विगत छ । बलियो इतिहास समुन्नत वर्तमानको मुख्य आधार हो । विराटनगरको स्वास्थ्योपचारका क्षेत्रले यो बारम्बार पुष्टि गरिरहेको छ, यहाँको विगत बलियो भएकै कारण वर्तमान झनै लोभलाग्दो छ ।
स्थापनाको १३४ वर्ष पूरा गरिसकेको कोशी अस्पताल होस् अथवा विराटनगरलाई आधार बनाएर निजी क्षेत्रबाट सञ्चालित दुईटा मेडिकल कलेजसहितका दुई दर्जन अस्पताल नै किन नहुन्, एक दर्जन हाराहारीमा रहेका आँखा अस्पताल हुन् वा यहाँ रहेका नर्सिङ कलेजहरू नै किन नहुन्, यी सबै स्वास्थ्य–शिक्षा प्रतिष्ठानहरूले विराटनगरलाई ‘मेडिकल हब’ का रूपमा चिनाउन मद्दत गरिरहेका छन् ।
निजी अस्पतालहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ‘अफिन’ का कोशी प्रदेश अध्यक्ष डा शंकरप्रसाद अधिकारीका भनाइमा कोशी प्रदेशमा करिव ६० भन्दा बढी निजी अस्पतालहरू सञ्चालनमा छन् ।
त्यसमध्ये दुई दर्जन जति ठूला अस्पतालहरू विराटनगरमै छन् । ‘सबै अफिनमा संलग्न त हुनुहुन्न तर अहिले विराटनगरमा २२ देखि २४ निजी अस्पताल, दुइटा मेडिकल कलेज, आँखा अस्पतालहरू सबैले विराटनगरलाई भरपर्दो उपचार केन्द्र बनाएका छन्’, अधिकारीले भने । नोबेल र विराट मेडिकल कलेजमध्ये विराट बुढीगंगा गाउँपालिकामा छ । यद्यपि शहरसँगै साँध जोडिएको पालिकामा भएको र विराटकै अस्पताल विराटनगरमा स्थापित भइसकेका कारण धेरैले विराटलाई महानगरको भन्दा टाढा ठान्दैनन् ।
विराटनगरका स्वास्थ्य संस्थाहरूमा पछिल्लो समयमा मानव अंग प्रत्यारोपण (ट्रान्सप्लान्ट) बाहेक सबैजसो सेवा उपलब्ध भइसकेको चिकित्सकहरू बताउँछन् । ‘अहिले विराटनगरमा एक हजारौंको हाराहारीमा विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरू कार्यरत छन्’, नेपाल चिकित्सक संघ कोशीका महासचिव डा बालकृष्ण साहले भने ‘अहिले मुटुको सर्जरीदेखि, मुटुको उच्चतम तहका उपचारहरू सम्भव छ । मृगौला, आईभीएफ, कलेजो, क्यान्सरदेखि स्नायूकासमेत उच्च तहको उपचार यहाँ उपलब्ध छ ।’ साहका अनुसार ‘डाइग्नोष्टिक’ क्षेत्रमा अहिले पनि केही समस्या छ । तर, उपचारको विविधितामा विराटनगरले ठूलो फड्को मारेको उनको भनाइ छ ।
यहाँसम्मको उपलब्धिको यात्राको सुरूआत कोशीबाटै सुरू भएको थियो । स्थापनाताका तत्कालीन मोरङ जिल्ला सदरमुकाम रंगेलीमा ‘पी वीर अस्पताल’को नाममा स्थापना भएको अहिलेको कोशी अस्पताल ११० वर्ष अघि विराटनगर सारिएको थियो ।
जसै अस्पताल विराटनगर सर्यो, त्यही बेलादेखि नै यहाँ उपचार गराउन आउनेहरूको संख्या बढ्यो । चिकित्सा क्षेत्रका जानकारहरूका अनुसार झण्डै सय वर्ष अघिदेखि नै विराटनगर स्वास्थ्योपचारका लागि भरपर्दो गन्तव्य बन्न थालिसकेको थियो । विं सं २००९ भदौ २९ (सन् १९५२ सेप्टेम्बर १३) मै मेडिकल एसोसिएसन विराटनगर स्थापना भएको तथ्यले नै बताउँछ । आजभन्दा ७२ वर्ष अघि नै यहाँका चिकित्सकहरू संगठित भएका थिए । डा लोचन कार्कीद्वारा लिखित ‘नेपाल चिकित्सक संघ विगतदेखि वर्तमानसम्म’ मा उल्लेख भए अनुसार त्यसबेला यहाँका सात जना चिकित्सकहरूले आफ्नो छाता संस्थाका रूपमा एसोसिएसन बनाएका थिए ।
‘विराटनगरलाई कार्यक्षेत्र बनाएर त्यसबेला काम गरिरहेका सात जना चिकित्सकले संस्था स्थापना गरेको घटनाले नै बताउँछ यहाँ त्यही बेलादेखि नै धेरै जना चिकित्सकले सेवा दिइरहेका थिए’, डा साहले भने ‘अहिले विराटनगर मेडिकल हबका रूपमा सर्वत्र चिनिएको छ । यो आठ दशकभन्दा अघिदेखि नै उपचारको हब थियो ।’
चिकित्सकीय अभ्यासका साथै जनस्वास्थ्यका विषयमा निरन्तर लेखनमासमेत सक्रिय डा साहका अनुसार त्यसबेला डा अवधनारायण लालको पहलमा यहाँका चिकित्सक संगठित भएका थिए । अवधनारायण लाल तिनै चिकित्सक हुन्, जसले विराटनगरमा निजी क्षेत्रको पहिलो क्लिनिक स्थापना गरेका थिए, अवधनारायण क्लिनिक । त्यसयता मुलुकमा राजनीतिक व्यवस्था फेरिए, पटक–पटक चलेको आन्दोलनले अनेकौं उपलब्धिहरू हाँसिल भए । अहिले विराटनगरमा फैलिएका राम्रा भन्दा राम्रा स्वास्थ्य संस्थाहरू त्यसैको प्रतिफल भएको चिकित्सकहरू बताउँछन् ।
कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा मात्रै गएको आर्थिक वर्षमा २ लाख ५२ हजार २ सय २० जनाले ओपीडी (बहिरङ) सेवा लिएको तथ्यांक छ । पुराना भौतिक संरचना भत्काएर नयाँ बनाइदै गरेको अवस्थामा पनि यतिका मानिसले स्वास्थ्य सेवा लिएका हुन् । आर्थिक वर्ष २०८०–८१ मा आकस्मिक विभागमा मात्रै ३९ हजार ८ सय ७७ जनाले सेवा पाएका छन् । सेवा राम्रो भएकाले कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको यो अस्पतालमा बिरामीको चाप थेग्नै नसक्ने अवस्थामा छ ।
सरकारी अस्पतालमा देखिने विरामीको संख्याले नै बताउँछ, कोशी अस्पताल आम नागरिकका लागि उपचारको भरपर्दो थलो बनिरहेको छ । अर्कातिर निजी क्षेत्रबाट सञ्चालित सुविधासम्पन्न मेडिकल कलेज र अस्पतालहरूको सेवा पनि उत्तिकै उम्दा रहेको छ । ‘कुनैबेला भारतीय शहर सिलिगुडी र पटना उपचारका लागि जानु विराटनगरका लागि बाध्यता थियो’, औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल भन्छन् ‘सरकारी सेवामा सुविधा थपिंदै गयो । निजी क्षेत्रले पनि लगानी थपेर सेवाहरूलाई विशिष्टीकृत तुल्याए । त्यसैले अहिले विराटनगर भरपर्दो उपचार गन्तव्य बनेको छ ।’
चिकित्सकहरूले उपचार गर्नलाई राणा शासनका वडाहाकिमहरूबाट इजाजत लिनुपर्ने बेलादेखि औषधि विज्ञानले फड्को मारेर अत्याधुनिक सुविधाहरू आविष्कार गरिसक्दा विराटनगरमा नविनतम् उपचार विधि र उपकरणहरू उपलब्ध भइसकेका छन् । ‘धरानको घोपामा सबै सर्वसाधारणका लागि कुनैबेला उपचार पहुंच थिएन विराटनगरमा सधैं सबैका लागि पहुंच भयो’, डा. साहको विश्लेषण छ ‘मुलुकका कहलिएका चिकित्सकहरूका लागि सरकारी र निजी अस्पतालहरू उपलब्ध भए । प्रविधिहरू, उपकरणहरू थपिन थाले । यही कारणले विराटनगरलाई मेडिकल हब बनायो ।’
कोरोनाकालमा नेपालमै सबैभन्दा छिटो र प्रभावकारी रूपमा ‘आइसोलेटेड कोरोना अस्पताल’ स्थापना विराटनगरमै भएको थियो । दक्ष जनशक्तिको सजिलैसँगको उपलब्धता, स्रोत साधनले पनि समृद्ध हुँदै जाँदाको परिणाम स्वरूप त्यो काम सम्भव भएको अनुभवीहरू बताउँछन् । डा अधिकारीदेखि डा साहसम्मको अनुभवले भन्छ, विराटनगरका सानाठूला एक दर्जन हाराहारीमा रहेका आँखा अस्पतालहरूले स्वदेशीदेखि ठूलो संख्याका भारतीय विरामीलाई उपचार सेवा दिइरहेका छन् ।
‘आँखा अस्पतालदेखि अन्य सरकारी र निजी अस्पतालमा हुने विरामीको बाक्लो आवतजावतले विराटनगर शहरकै अर्थतन्त्रलाई ठूलो प्रभाव पारेको छ’, यी दुवै चिकित्सकको निचोड छ ‘ठूलो संख्यामा हुने विरामीको आवागमनले होटलहरू थपिनु पर्यो । अन्य पसल र कारोबार पनि उच्च भयो । यसले यहाँको बजार र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्यो ।’
यसबाहेक विराटनगर महानगरपालिकाले पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सेवा सुविधा थपिरहेको छ । महानगरले दक्षिणी क्षेत्रमा रहेको रानी प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरी क्षेत्रमा रहेको बैजनाथपुर स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरेको छ । दुवै अस्पतालमा जनशक्ति र उपकरणको समेत राम्रो व्यवस्था गरेको छ ।
महानगरले रानी अस्पतालमा फिजियोथेरापी, भिडियो एक्स–रेलगायतका सुविधा थप गरेको छ । यसबाहेक महानगरअन्तर्गतको दुवै अस्पतालमा बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारीसमेत अन्तिम चरणमा पुगेको छ । यस्तै रानी अस्पतालमा एक्स–रे र स्वास्थ्य बीमा फार्मेसी सेवा पनि सञ्चालनको तयारीमा छ । बैजनाथपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने प्रक्रियामा छ ।
शैक्षिक विकासमा विराटनगरको फड्को
विराटनगर अब शैक्षिक क्षेत्रको समेत महत्वपूर्ण हब बनेको छ । विराटनगरको प्राथमिक शैक्षिक विकासको सुरूवात वि.सं. १९८६ मा खुलेको आदर्श विद्यालय र माथिल्लो शैक्षिक विकास आदर्श स्कूलमै वि.सं. २०१२ श्रावण १६ मा खुलेको मोरङ इन्टरमिडिएट कलेजको नामले खुलेर पछि स्नातक तहको पढाइ हुन थालेको ‘मोरङ कलेज’बाट सुरू भएको मानिन्छ । त्यसपछि खुलेका केही प्राथमिक विद्यालयहरूले यहाँको शैक्षिक विकासको बाटोलाई अघि बढाउँदै लगेका हुन् ।
वि.सं. २०४७ सालको राजनीतिक परिवर्तनपछि भने निजी विद्यालयहरू स्थापना हुन थाले । औद्योगिक क्षेत्रमा जस्तै विराटनगरको शिक्षा क्षेत्रमा पनि निकै द्रूतगतिमा प्रगति देखिँदै आएको छ ।
विराटनगरका शिक्षालयहरूले हरेक बर्ष जिल्ला, प्रदेश र राष्ट्रिय तहमा राम्रो नतिजा हासिल गर्दै आइरहेका छन् । त्यसलाई उनीहरूलाई निरन्तरता दिँदै आइरहेका छन् । शैक्षिक गुणस्तर र पहुँचमा विराटनगरका सामुदायिक विद्यालयहरूले समेत सर्वोत्कृष्ट स्थान हाँसिल गर्दै आएका छन् ।
अत्याधुनिक प्रविधियुक्त भौतिक पूर्वाधारसहितका एक दर्जन निजी विद्यालयहरूमा हरेक बर्ष विद्यार्थीहरूको भीड उस्तै देखिन्छ । विराटनगरको शिक्षा क्षेत्रको विकासमा विद्यालयदेखि विश्वविद्यालयसम्मका संरचनाहरूको भूमिका देखिने गरेको छ । यसअघि विराटनगरमै केन्द्रीय कार्यालय रहेर खुलेको पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक गरिमा बढ्दै गएको छ । विश्वविद्यालयले तयार पारेका विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरू विराटनगरका क्याम्पस/कलेजहरूमा अध्यापन हुने गरेका छन् ।
प्रदेश संरचनाको विकासपछि विराटनगरमै सीमाना जोडिएको बुढिगंगा गाउँपालिकामा मनमोहन प्राविधिक विश्वविद्यालय समेत स्थापना भएर शैक्षिक कार्यक्रमहरू अघि बढाइरहेको छ । विराटनगरमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेज र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटीई) अन्तर्गतका शैक्षिक संस्थाहरूको संख्या वर्षेनी बढ्दैगएको छ । यसैको परिणाम विराटनगर अब शैक्षिक हबको रूपमा विकास भएको शिक्षा क्षेत्रका सरोकारवालाहरूले बताउने गरेका छन् ।
उच्च माध्यमिक विद्यालय संघका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले विराटनगर अब कुनै पनि हिसाबले शैक्षिक क्षेत्रको हब बनिसकेको बताए । उनले विराटनगरमा आसपासका क्षेत्र बाहेक अन्य प्रदेश र धेरै जिल्लाहरूबाट राम्रो शिक्षाका लागि विद्यार्थीहरू आउने भएकोले विराटनगर शैक्षिक हबको रूपमा विकास भइसकेको बताए ।
‘मुख्यगरी यहाँबाट लिंकेज हुने जिल्लाहरूबाट विद्यार्थीहरू आउँछन् कि आउँदैनन् भन्ने कुरालाई महत्वका साथ हेर्नुपर्छ’ उपाध्यक्ष पोखरेलले भने, ‘यहाँ यो प्रदेशका मात्रै होइन, मधेसका समेत विद्यार्थी आउँछन्, यो प्रदेशका त सबै जिल्लाका विद्यार्थी आइपुग्छन् भने विराटनगर स्वतः शैक्षिक हब नै हो, अब यसमा कुनै द्विविधा राख्नु पर्दैन ।’
विराटनगरमा शैक्षिक पूर्वाधारमा पनि उल्लेखनीय सुधार देखिएको छ । सुविधा सम्पन्न ठूला–ठूला भवन, अत्याधुनिक वातानुकुलित कक्षा कोठा, आधुनिक र प्रविधियुक्त शैक्षिक सामग्रीको प्रयोग बढ्दै गएको छ । कम्प्युटरमा आधारित शिक्षाको बृद्धि हुँदै गएको छ ।
विराटनगर महानगरपालिकाका अनुसार अहिले विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ । हाल २ लाख ८० हजार बढी विद्यार्थीहरू सामुदायिक विद्यालयमै अध्ययनरत रहेका छन् ।
देशभरिका सामुदियक विद्यालयमध्ये पोखरीया माध्यमिक विद्यालयमा एसईई परीक्षाको नतिजामा निरन्तर उत्कृष्ट भइसकेको छ । २०७९ को नतिजा अनुसार देशभरमै सर्वोत्कृष्ट हुन सफल भएको छ । त्यसैगरी आदर्श मावि देशभरका उत्कृष्ट १२ वटा विद्यालयभित्र परिसकेको छ ।
५६ सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढीले हाल अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरेको जनाइएको छ । ती विद्यालयहरूलाई महानगरपालिकाले भौतिक, शैक्षिक तथा व्यवस्थापकीय सहयोग प्रदान गर्दै आइरहेको जनाइएको छ ।
महानगरका आधारभूत तहमा विद्यालयका ४० जना शिक्षकलाई ३० दिने अंग्रेजी भाषा सीप विकास सम्बन्धी तालिम नै दिइएको जनाइएको छ । बहुप्राविधिक विद्यालयको अवधारणा अनुसार महानगरमा अहिले सामुदायिक विद्यालयलाई विकास गरिएको महानगरपालिकाको दाबी छ ।
फस्टाउँदो शैक्षिक वातावरणका कारण विराटनगरमा काठमाडौं केन्द्रित रहेका शिक्षा र सिकाईसम्वद्ध निकायहरू अहिले विराटनगरमै केन्द्रित हुने गरेका छन् । उच्च शिक्षाका लागि विराटनगर छाड्नै पर्ने बाध्यता हटेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयका शैक्षिक कार्यक्रम अनुसार विराटनगरका केही कलेजहरूले अध्ययन अध्यापन गराउँदै आएका छन् । यसले विराटनगरबाट भइरहेको शैक्षिक पलायनलाई रोक्नका लागि निकै महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।
कोशी प्रदेशको राजधानी समेत विराटनगर भएका कारण अन्य प्रदेशबाट यहाँ माध्यमिक तहदेखि उच्च शिक्षासम्म अध्ययन गर्न आउने विद्यार्थीहरूको संख्या उल्लेख्य रहने गरेको छ । यसले गर्दा विराटनगरको शिक्षा क्षेत्रमा लगानी वृद्धिमा समेत मद्दत गर्ने जनाइएको छ ।
विराटनगरको शैक्षिक विकासलाई निरन्तर अघि बढाउनका लागि शिक्षा क्षेत्रका सवै सरोकारवालाहरूको साथ सहयोग आवश्यक रहेको छ । विशेष गरी स्थानीय सरकार, शिक्षण संस्थाहरू र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउनु पर्ने यस क्षेत्रका सरोकारवालाहरूको भनाइ छ ।
न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई छात्रवृत्तिको माध्यमबाट विद्यालय शिक्षामा प्रोत्साहन गर्नुपर्ने सरकारी र निजी दुवै खालका शैक्षिक संस्थाको दायित्व छ ।
कोभिड–१९ को महामारीले शैक्षिक गुणस्तरमा पारेको प्रभावलाई विराटनगर महानगरपालिकाले प्रोत्साहनमूलक शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्नु आवश्यक देखिएको छ ।
विराटनगरको शैक्षिक विकासमा भइरहेको निरन्तरको परिवर्तनले यहाँको शैक्षिक सम्भावनालाई बढाउँदै लगेको छ । विद्यालयहरूको थप सुधारका लागि नयाँ प्रयासहरू आवश्यक रहेका छन् । सरकारी र निजी क्षेत्रका शैक्षिक संस्थाहरूबीच पनि सहकार्य आवश्यक छ । सरकारी विद्यालयहरूमा पूर्वाधारको थप विकास र निजी विद्यालयमा सर्वसुलभ शिक्षाको पहुँच पुग्नुपर्नेमा सरोकारवालाहरूको जोड रहेको छ ।
प्राध्यापक कृष्ण पोखरेलका अनुसार शिक्षाप्रतिको प्रेम र ज्ञानको भोकले नै विराटनगरमा रहेका सामाजिक अभियन्ताहरूले विद्यालय खोल्ने अठोट गरेका हुन् । ती संस्थाहरूले नै अहिले विराटनगरको शैक्षिक क्षेत्रको सार्वजनिक कथन निर्माण गरेका छन् । ‘सामाजिक अभियन्ताहरूले गरेको जनस्तरदेखिको शैक्षिक अभियान नै आज विशाल बटवृक्ष भएको छ’ उनले भने, ‘यसका हाँगाबिंगा दिगदिगन्तसम्म फैलिरहने छन् ।’
View : 162
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved