विराटनगर । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा बिहीबार तेहथुमको लालिगुराँस नगरपालिकास्थित वसन्तपुर बजारमा भव्य सभा हुने भएको छ । सभाको तयारी पूरा भएको जनाइएको छ ।
एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले वसन्तपुरमा १५ हजार बढिको सहभागीता हुने गरि सभाको तयारी गरिएको जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा सुनसरी, मोरङ, तेह्रथुम, धनकुटा र संखुवासभाबाट सहभागिता रहने छ । सुनसरी मोरगबाट मात्र ६० वटा बस, ६० वटा कारजिप र तीन सयभन्दा बढी मोटरसाइकलमा सहभागी हुने तिवारीले बताए । आजैदेखि सहभागीहरु वसन्तपुर जान थालेका छन् । भोलि दिउँसो साढे १२ बजे वसन्तपुरमा सभा सुरु हुने जनाइएको छ ।
वसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिम्बू संस्कृतिअनुसार स्वागत गरिने छ । वसन्तपुर बजारमा हुने आमसभामा पाँच सय एकजना स्वयंसेवक खटिने छन् ।
सभाअघि बिभिन्न जातजाति भाषाभाषीको झाँकीसहित जुलुस निकालिने कार्यक्रम मूल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिए ।
आमसभाअघि चोलुङ्गपार्क र त्यहाँस्थित ऐतिहासिक संग्राहलय निरीक्षणको कार्यक्रम छ । वसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने सहर हो । लोकमार्गमा परेका सम्भािवत १० सहरमा संचालित नयाँ सहर आयोजना वसन्तपुरमा पनि छ । वसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो ।
View : 185
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved