सुरु भयो बेलबारी गोल्डकप
बेलबारी । उद्घाटन खेलमा भारतको कन्चनजंघा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बेलबारी ११ को लक्ष्मी खेलमैदानमा भएको उद्घाटन खेलको नवौँ मिनेटमा कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीका प्रनेश प्रदानले वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
झापाका गोल रक्षक सन्दीप लिम्बू गोल पोष्ट छोडेर अगाडि बढेको मौकालाई सदुपयोग गर्दै पाहुना टोलीले झापाविरुद्ध सुरुवाती गोल गरेको थियो । तर खेलको ३५ ओैं मिनेटमा झापा खेलमा फर्क्यो ।
आशिष चापागाँईले पोष्टमा प्रहार गरेको बल रिवाउन्स भएर मैदानमा फर्किएको थियो । उक्त बललाई झापाका निरज कार्कीले गल्ती नगरी जाली चुमाए ।
मध्यान्तरमा १–१ गोलको बराबरीमा रहेको खेलमा झापाले ५३ औं मिनेटमा गोल थप्यो । अभिषेक गुरुङले आशिष चापागाइँको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरे ।
कञ्चनजङ्घाका खेलाडीहरू सम्हालिन नपाउँदै झापा ११ ले तेस्रो गोल गर्यो । ५९ औं मिनेटमा झापाका निरज कार्कीको पासमा उत्सव राईले गोल गरे ।
खेलको ७० औं मिनेटमा उत्सव राईले अर्को १ गोल थपे । सिलिगुडीका गोल रक्षक प्रनुव लिम्बू बल नियन्त्रण गर्न अघि बढेको समयमा उत्सवले सुन्दर गोल गरेका थिए ।
सुरुवाती गोल खाएर निरास बनेको झापाको गोल गर्ने क्रम रोकिएन । खेलको ७६ औं मिनेट भविन बोहोराको पासमा निकेश श्रेष्ठले टिमका लागि गोल गरे । ५–१ गोलले स्तब्ध भएको पाहुना टोली अन्तत: पहिलो चरणमै बाहिरिनु परेको छ ।
उद्घाटन खेलमा झापाको तर्फबाट २ गोल गर्ने उत्सव राई म्यान अफ द म्याच घोषित भए । उत्सवलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले नगद ५ हजारसहित ट्रफी प्रदान गरे ।
शनिवार आयोजक एलएक्स सिटी फुटबल क्लब बेलबारी-११ र चित्लाङ फुटबल क्लब काठमाडौँबीच खेल हुने जनाइएको छ ।
यसैबीच, शुक्रबार भव्य समारोहका बिच सातौँ संस्करणको बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
क्लबका अध्यक्ष विक्रम राईको सभापतित्वमा भएको उद्घाटन समारोहमा एन्फाका सदस्य दीपेन्द्र धिमाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी चन्द्र कुवेर खापुङ्ग लगायत राजनीतिक दल, समाजसेवी र खेल क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
View : 144
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved