विराटनगर । आफ्नो स्वामित्वमा रहेको बहुमूल्य जग्गामा सामाजिक र धार्मिक कार्यको आवरणमा अतिक्रमणको जालोमा जेलिएको कोशी अस्पतालले अन्ततः अतिक्रमित जमिनमा बनेका संरचनामा डोजर चलाएको छ ।
सोमबार बिहानै देवकोटा चोकदेखि अस्पताल चोकसम्मका ३२ वटा सटरमा अस्पतालले डोजर चलाएको हो ।
अस्पतालको स्वामित्वमा रहेका कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ को जग्गामा लामो समयदेखि र विभिन्न संघ–संस्थाहरूले स्थायी संरचना खडा गरेका थिए ।
अस्पतालको अभिलेख अनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कठ्ठा ८ धुर र नेपाल रेडक्रस सोसाइटीले करिब २ कठ्ठा जग्गा वर्षौंदेखि ओगट्दै आएका थिए ।
त्यस्तै, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडकको अग्रभाग कब्जा गरेर व्यावसायिक सटरहरू निर्माण गरेका थिए ।
यी संस्थाहरूले सामाजिक सेवाको नाममा जग्गा ओगटे पनि अस्पतालको हित विपरित तेस्रो पक्षलाई महंगोमा सटर भाडामा दिई लाखौं रुपैयाँ आम्दानी गर्दै आएका थिए ।
अस्पताल स्रोतका अनुसार क्षयरोग निवारण संस्थाले मासिक करिब दुई लाख, रेडक्रसले बैंकलाई भवन भाडामा दिएर मासिक १ लाख ५० हजार तथा गणेश मन्दिर र देवकोटा पुस्तकालयले मासिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका थिए ।
अस्पतालले आफ्नो वृहत् गुरुयोजना कार्यान्वयन र जग्गाको सही सदुपयोगका लागि ती संरचना हटाउन पटक–पटक ताकेता गरे पनि वर्षौंदेखि ती निकायले अटेर गर्दै आएको अस्पतालले जनाएको छ ।
लामो समयदेखि अस्पतालको जग्गा खाली गराई अस्पतालले नै उपयोग गर्ने वातावरण बनाउनुपर्ने आवाज उठिरहेकै बेला यो प्रकरणमा गत असार २१ गते एउटा नयाँ मोड आएको थियो ।
गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पताल क्षेत्रको आकस्मिक स्थलगत अनुगमन गर्दै अस्पतालको बेहाल र जग्गाको व्यापक व्यावसायिक दुरुपयोग देखेपछि मन्त्रीद्वयले तत्काल अतिक्रमित संरचना खाली गराउन कडा निर्देशन दिएका थिए ।
मन्त्रीहरूको प्रत्यक्ष निर्देशन र स्थानीय प्रशासनको सक्रियतापछि अस्पताल प्रशासनले सुरुको १५ दिने सूचनाको सुनुवाइ नभएपछि दोस्रो पटक कडा चेतावनीसहित सात दिनको अन्तिम अल्टिमेटम जारी गरेको थियो । जसको म्याद सोमबार सकिंदै थियो ।
सोमबार बिहानको मिर्मिरे उज्यालोसँगै विराटनगर–७ को अस्पताल चोक र देवकोटा चोक क्षेत्रको वातावरण एकाएक तातियो ।
सम्भावित तनाव र अवरोधलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो लावालस्कर घटनास्थलमा तैनाथ भयो ।
जिल्ला सुरक्षा समितिको समन्वयमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङ प्रहरी प्रमुख एसपी कबित कटवाल आफैं कमान्ड सम्हाल्न मैदानमा उत्रिएका थिए ।
सूचनाको म्याद सकिनु अगावै सटरहरू खाली भइसकेकाले स्थानीय प्रशासनले कुनै ढिलाइ नगरी अस्पताल चोकका अतिक्रमित संरचनामाथि सिधै डोजर चलायो ।
वर्षौंदेखि जताततै ठडिएका अवैध व्यावसायिक संरचनाहरू डोजरले क्षणभरमै भत्काउन थालियो ।
‘अस्पतालको जग्गा कब्जा गरेर विभिन्न संघ–संस्थाले व्यावसायिक प्रयोजनका लागि निर्माण गरेका संरचनाहरू डोजर लगाएर भत्काइएको हो,’ मोरङ प्रहरी प्रमुख एसपी कटवालले भने ‘अस्पतालको बहुमूल्य जग्गामा अरू कसैले व्यापार गर्ने र लाभ लिने कार्य अब चल्दैन ।’
डोजर लगाउने क्रममा देवकोटा पुस्तकालय, नेपाल रेडक्रस प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, गणेश मन्दिर र नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका २६ वटा र स्वयम् कोशी अस्पतालकै ६ वटा गरी कुल ३२ वटा व्यावसायिक सटरहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन् ।
जस अनुसार गणेश मन्दिर परिसरका ५ सटरहरु भत्केका छन् । मासिक ६० हजार रुपैयाँसम्म भाडा बुझाउँदै आएका उज्ज्वल फर्मा, कलश फर्मा, उत्सव किराना पसल, श्रुति फार्मेसी र बालबालिका क्लिनिक भत्किएका छन् ।
त्यस्तै क्षयरोग निवारण संस्थाका ९ सटरमा डोजर चलेको हो । श्रेष्ठ खाजाघर, मदिना होटल, पुन्टु कलेक्सन, पूर्वाञ्चल बायोमेडिकल, दीपेश शाकाहारी खाजाघर, रहिम मोटरसाइकल मर्मत पसल, मोनिका फार्मेसी र निरुपमा होटलमा डोजर चलेको हो ।
यसैगरी नेपाल रेडक्रस सोसाइटीका सटरहरू सुनिल भेराइटिज, सुमना ट्रेडर्स, त्रिवेणी फोटो स्टुडियो, राष्ट्रिय वाणिज्य बैंक, कोशी मार्भलस र मिना मेडिकलमा डोजर चलाइएको हो ।
देवकोटा पुस्तकालयका ६ वटा व्यावसायिक सटरहरू पनि भत्केका छन् । यद्यपि, बिरामीको सेवा र संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल क्षयरोग निवारण संस्था, रक्तसञ्चार सेवा केन्द्र र गणेश मन्दिरको मूल मानवीय वा धार्मिक सेवा प्रवाह हुने भवनको संरचनालाई भने हाललाई भत्काइएको छैन ।
केवल तेस्रो पक्षलाई भाडामा लगाइएका व्यावसायिक सटरहरूमा मात्र डोजर चलाइएको अस्पतालले जनाएको छ ।
वर्षौंदेखिको अवैध अतिक्रमण अन्त्य भएपछि अस्पताल प्रशासनले राहतको सास फेरेको छ ।
अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले अबको योजना प्रस्ट्याउँदै भने ‘स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशन अनुरूप हाललाई यो खाली जग्गाको चारैतिर बलियो हाता पर्खाल लगाएर सुरक्षित पारिनेछ ।
मन्त्रालयको अर्को निर्देशन र बजेट नआउञ्जेल अस्पताल प्रशासनले जग्गा संरक्षणको काम मात्र गर्नेछ । मन्त्रालयले थप भौतिक संरचना निर्माणको आदेश दिएमा सोही अनुसार काम अघि बढ्दै जानेछ ।’
यसैगरी, कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चन्द्रभाल झाले वर्षौंदेखिको अतिक्रमण हटेपछि अस्पतालले आफ्नो सम्पत्ति निर्वाध रूपमा उपयोग गर्न पाउने खुसी व्यक्त गरे ।
अस्पतालको आगामी कार्ययोजनाबारे उनले भने ‘प्रयोग गर्न मिल्ने र सेवा विस्तारमा आउने भवनहरूलाई हाललाई नभत्काई अस्पतालकै काममा प्रयोग गरिनेछ ।’
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved